कांग्रेसमा कहिले आउला अन्तिम मतपरिणाम ? यस्तो छ निर्वाचन समितिको तयारी



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर २७ गते भएको निर्वाचनको अझै आधाभन्दा बढी संख्यामा मतपरिणाम आउन बाँकी छ।

पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ जना चयन गर्नका लागि भएको मतदानको अहिलेसम्म ६२ जनाको मात्र परिणाम सार्वजनिक भएको छ। यो समाचार तयार पार्दासम्म १३ पदाधिकारी, ३५ खुला सदस्य, ९ महिला सदस्य र केही अन्य गरी ६२ जनाको मात्रै परिणाम आएको छ।

७२ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रदेश १ र बागमतीको हिजोबाट सुरु गरिएको गणनाको केहीबेरमा नतिजा आउने जानकारी दिए।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतर्फका केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको उनले बताए। सातै प्रदेशबाट गरी तीन जनाका दरले २१ जना केन्द्रीय सदस्य चुनिने छन्। प्रदेश २ बाट भने तीन जना निर्वाचित भइसकेका कारण अब १८ जना निर्वाचित हुन बाँकी छ।

‘दलित, आदिवासी जनाजाति तथा खसआर्य समूहबाहेक सबै समूहको मत गणना सुरु भइसकेको छ’ संयोजक घिमिरेले भने,‘बाँकी तीनवटै समूहको पनि आज बेलुकी नै मतगणना सुरु हुनेछ।’ १० ठाउँमा मतगणना सुरु भएकाले भोलि राति सम्ममा अन्तिम परिणाम आइसक्ने उनले बताए।

सातै प्रदेशबाट गरी तीन जनाका दरले २१ जना केन्द्रीय सदस्य चुनिने छन्। प्रदेश २ बाट भने तीन जना निर्वाचित भइसकेका कारण अब १८ जना निर्वाचित हुन बाँकी छ।

हालसम्मको परिणाम अनुसार १३ पदाधिकारीमध्ये आठ जना सभापति शेरबहादुर देउवा पक्षका निर्वाचित भएका छन् भने डा। शेखर कोइरालातर्फका चार जना पदाधिकारी निर्वाचित भएका छन्।

यस्तै पदाधिकारीमा एक जना प्रकाशमान सिंह समूहका उम्मेदवार पनि विजयी बनेका छन्। खुला ३५ केन्द्रीय सदस्यतर्फ २५ जना देउवा समूहतर्फबाट र ९ जना कोइराला समूहबाट निर्वाचित बनेका छन्।

एक जना भने तटस्थ छन्। यसैगरी ९ महिला केन्द्रीय सदस्यतर्फ आठ जना देउवा समूहबाट र एक जना कोइराला समूहबाट निर्वाचित भएका छन्।

 

सम्बन्धित समाचार