मुआब्जा समस्या समाधान नभएपछि प्रधानमन्त्री देउवालाई भेट्नु हुँदै पालिका अध्यक्ष शेर्पा ।
खाँदबारी । अरुण तेश्रोका नागरिकहरु लगानी बोर्डसँग असन्तुष्टि ब्यक्त गर्न थालेका छन् । अरुण प्रवेश मार्गको सडकले मिचेको जग्गाको मुआब्जाको विषयमा लगानी बोर्डले बेवास्ता गरेको भन्दै आक्रोस समेत ब्यक्त गर्न थालेका छन् ।
पछिल्लो समय मुआब्जाको सहजीकरण गरिरहेको चिचिला गाउँपालिकाका जनप्रतिनिधीहरुले समेत लगानी बोडको कार्य प्रति असन्तुष्टि ब्यक्त गर्न थालेका छन् । मुआब्जा समस्या समाधानका लागि पटक पटकको प्रयासमा पनि लगानी बोर्ड गम्भिर नभएको प्रभावित स्थानीय तह चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाका भनाई छ । आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले विभिन्न आन्दोलनहरु गर्दा समेत समस्या समाधान गर्ने भनि आन्दोलनरत स्थानीयलाई रोक्ने काम गरिएपनि ४ बर्ष वित्दा पनि समस्या समाधानमा लगानी बोर्डले चासो नदिएको अध्यक्ष शेर्पाको भनाई छ ।
सुरुमा अरुण तेश्रो प्रवेश मार्गको सडकका लागि १५ मिटरको मात्र मुआब्जा दिएर पछि ३० मिटरको लगत कट्टा गरि सडक निर्माण गरिएको स्थानीयको भनाई छ । कत्तिपय ठाउँमा मुआब्जा दिएको क्षेत्र भन्दा अर्कै ठाउँबाट सडक खोलिएपछि स्थानीय नागरिकहरु आन्दोलित बनेका हुन् । लगत कट्टा गर्दा समेत स्थानीय जग्गाधनीलाई थाहै नदिई गरेको उनीहरुको भनाई छ ।
मुआब्जा बिवाद समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित अध्ययन समितिले प्रतिवेदन समेत बोर्डलाई बुझाईसकेको छ । उक्त प्रतिवेदन कार्यन्वयनको साटो विभिन्न बहाना गरेर प्रभावितहरुको माग तुहाउन खोजेको अनुभुती हुन थालेको अध्यक्ष शेर्पाको भनाई छ । लगानी बोर्डसँगको छलफलमा बोर्डको पदाधीकारीहरुले प्रभावित स्थलमा नै अनुगमन गर्ने, सो समयमा प्रभावित नागरिक र स्थानीय सरकार चिचिला गाउँपालिकालाई एक हप्ता अघि नै जानकारी गराएर सँगै अनुगमन गर्ने भनिएपनि बोर्डका सहसचिव सुरेन्द्र पौडेल निर्माण क्षेत्रमा सुटुक्क पुगेर फर्किएको चिचिला गाउँपालिकाको भनाई छ ।
यसरी स्थानीय प्रभावितहरुको प्रतिनिधी विना एकलौटि ढंगले परिमार्जन वा तोढमोड गरे त्यसबाट भईपरि आउने समस्याको विषयमा पालिका जवाफदेहि नबन्ने पालिका अध्यक्ष शेर्पाको भनाई छ । यस अघिको पटक पटकको आन्दोलनहरुलाई आफुहरुले संयमित बनाएको तर यस्तै ब्यावहारले सडकमा आउने प्रभावितहरुलाई रोक्न नसकिने अध्यक्ष शेर्पाले स्पष्ट पार्नुभयो । प्रभावित क्षेत्रका कसैलाई पनि थाहै नदिई पदाधिकारी सुटुक्क आउनुले लगानी बोर्ड र विद्युत विकास कम्पनी प्रति नागरिकहरुको आशंका बढ्न थालेको अध्यक्ष शेर्पाको भनाई छ ।
प्रतिक्रिया