प्रदेश २ माथि सहज जित निकाल्दै सुदूरपश्चिम अन्तिम चारमा



धनगढी । प्रधानमन्त्रीकप महिला राष्ट्रिय टी-२० क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको छ। बिहीबार भएको खेलमा समूह बीमा प्रदेश २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो।

धनगढीको फाल्पामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रनको उच्च स्कोर बनाएको थियो। त्यसको जवाफमा प्रदेश नम्बर २ ले ५६ रन मात्र जोडेपछि सुदूरपश्चिमले ८७ रनको फराकिलो जित निकाल्यो।

१ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल ५६ रन बनायो। उसका लागि साना प्रविन १४ र विमला मगरले १२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

सुदूरपश्चिमका लागि लक्ष्मी साउद र कविता जोशीले २/२ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमलाई उच्च स्कोरमा पुर्‍याउने क्रममा विन्दु रावलले ५० रनको अर्धशतकीय इनिङ खेलिन उनले ४५ बलमा ४ चौका प्रहार गरेकी थिइन्।

त्यस्तै रुबी पोद्दार २१, कविता जोशी १३, शोभा रोकाया, संगीता मोउनी १३ र डली भट्टले १५ रनको स्कोर बनाएकी थिइन्। प्रदेश २ की विमला मगरले २, अनुराधा चौधरी र साना प्रविनले १(१ विकेट लिए।

प्रतियोगितामा समूह ‘ए ’बाट प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन्। समूह ‘बी ’बाट नेपाल एपिएफ क्लब यसअघि नै सेमिफाइनलमा पुग्दा अर्को टोलीको रूपमा सुदूरपश्चिमले स्थान बनाएको हो।

सम्बन्धित समाचार