संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ३ माक्सुवा स्थित देवकोटा आधारभुत विद्यालयमा दिवा खाजा कार्यक्रम बापतको रकममा अनियमितता देखिएको छ । कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई खुवाउँदै आएको दिवा खाजा कार्यक्रम बापतको रकममा अनियमितता देखिएको हो । गत वर्ष ०७७ मंसिर १६ गते देखि उक्त विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएको थियो । स्थानीय मिलन कुमारी आले मगरले सो विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएका थिए । उनले उक्त विद्यालयका विद्यार्थीलाई ०७८ वैशाख १७ गतेसम्म दिवा खाजा खुवाए । सो बापत उनले पहिलो पटक ४० हजार ९ सय ५७ रुपैंया र अर्को पटक ८२ हजार १ सय ५ रुपैंया गरि जम्मा १ लाख २३ हजार ६२ रुपैंया तत्कालिन प्रधानाध्यापक दलमर्दन तिवारीमार्फत भुत्तानी लिए । तर प्रधानाध्यापक तिवारीले दिवाखाजा कार्यक्रम अन्तर्गत पाँचखपन नगरपालिकाबाट एकमुष्ट १ लाख ४० हजार ६ सय ७० रुपैंया भुक्तानी लिएका छन् ।
तर तिवारीले मिलन कुमारी मगरलाई भुक्तानी दिदा पहिलो पटकको भुक्तानीमा कर बापत भन्दै ४ सय १३ र दोस्रो पटक १ हजार २ सय ५० असुल गरेका छन् । यहीँ विषयमा पाँचखपन नगर शिक्षा प्रमुख इन्द्र कार्कीका अनुसार दिवा खाजा कार्यक्रमको पहिलो त्रैमासिक रकम भुक्तानीमा १.५ प्रतिशतले कर कट्टी गरिएको तर पछी कोष तथा लेखा नियन्त्रक खाँदबारीमा बुझ्दा कर कट्टी गर्न नमिल्ने बुझिएपछी पछिल्लो भुक्तानीहरुमा कर कट्टी नगरिएको बताए । तर प्रअ तिवारीले मिलन कुमारी मगरलाई दोस्रो पटकको भुक्तानीमा समेत करिब १ प्रतिशतका दरले कर कट्टी गरि भुक्तानी दिएका छन् ।
प्रअ तिवारीले मासिक रुपमा विद्यार्थीहरुको विवरण अनुसार मिलन कुमारी मगरलाई भरपाई गराएका छन् । भरपाई अनुसार प्रअ तिवारीले नगरपालिकाबाट लिएको भुक्तानी रकममा हिसाब चुस्त दुरुस्त देखिन्छन् । तर उनले लिएको भुक्तानी रकम र मिलन कुमारी मगरलाई दिएको भुक्तानीमा १७ हजार ६ सय ८ रुपैंया हिनामिना भएको देखिन्छ । मिलन कुमारी मगर भन्छिन्, मैंले पाउनु पर्ने रकम पाएको छु बाँकी रकम सरले के गर्नु भयो थाहा छैन । यहीँ बिषयमा तत्कालिन प्रअ दलमर्दन तिवारीसँग कुरा गर्दा मैंले हिनामिना गरेको छैन, जति पैसा नगरपालिकाबाट आएको छ, त्यति नै मैंले मिलनलाई भुक्तानी गरेको छु । उनले थोरै पैसा लिएँ भन्न मिल्दैन, भरपाई विवरणमा प्रस्ट छ ।
तर उनी प्रअ रहँदा भएका अनियमितताका विषयमा विद्यालय व्यवस्थापन समिति चर्को विरोध गरिरहेका छन् । गत कार्तिक १० गते पुनर्गठित समितिले हिसाब चुस्त राख्नका लागि सम्पूर्ण कागजात खोज्ने क्रममा यस्तो भेटिएको विव्यस अध्यक्ष दान बहादुर वैद्यले बताए ।
गत असोज २० गते तत्कालिन प्रअ दलमर्दन तिवारी काजमा पाँचखपन कै वडा नं. ५ स्थित खप्टुवा माध्यमिक विद्यालय गए । काजमा जानु अघि नै उनले असोज १९ गते विद्यालयलाई बरबुजारत बुझाइसकेका छन् ।
र यो पनि…….
प्रतिक्रिया