काठमाण्डौ । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेको अवस्थामा १६ जनालाई आज सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाण्डौका सुबिन लामा, काठमाण्डौकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँका सुशान्त राज भण्डारी पनि पक्राउ परेका छन् । साथै मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ओखलढुङ्गाका विवेक न्यौपाने, ललितपुरका को रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले सेवाग्राहीहरूलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने भनी आश्वासन दिइ जबरजस्ती तानी अनावश्यक दुःख दिँदै सार्वजनिक स्थानमा अशान्ति मच्चाएको प्रहरीले बताएको छ । उनीहरू १६ जनालाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया