वार्सिलोना । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीमध्ये दुई जनाको शव नेपाल पठाउन सरकारले खर्च व्यहोरेको छ ।
दुर्घटनामा भिमेश्वर नगरपालिका ६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका ४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव नेपाल पठाउने खर्च सरकारले व्यहोरेको हो । उनीहरू श्रम स्वीकृति लिएर टर्की आएकाले श्रमिक कल्याणकारी कोषको रकम प्रयोग गरेर शव नेपाल पठाउने प्रक्रिया अघि बढेको नेपाली राजदूतावास भियनाले जनाएको छ ।
आमाछोदिङमो गाउँपालिका ३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका ५ तनहुँका ओम भनिने उम बहादुर थापामगरको शव पठाउने खर्च भने व्यहोरिएको छैन । उनीहरु विना श्रम स्वीकृति अवैधानिक बाटो हुँदै ग्रिस पुगेको भन्दै खर्च नव्यहोरिएको हो । त्यसैले उनीहरुको शव नेपाल पठाउनेबारे टुंगो लागेको छैन ।
चारै जनाको शव डेढ महिनादेखि ग्रिसको टिचिङ हस्पिटल अफ आलेक्सएन्ड्रोपोलीमा राखिएको छ । शव नेपाल पठाउन जनही ३ हजार ८ सय युरो खर्च लाग्ने अनुमान छ ।
प्रतिक्रिया