चितवन । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र, पर्सा, बारा र रौतहट डिभिजन वन कार्यालय क्षेत्रमा सर्वेक्षण भइरहेको छ । ती क्षेत्रमा ३०० जोडी क्यामेरा राखिएको उनले जानकारी दिए ।
यही माघ २० गतेसम्ममा सो क्षेत्रमा पनि सर्वेक्षण सम्पन्न हुने छ । ती क्षेत्र सम्पन्न भएसँगै यहाँको क्यामेरा लगेर शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गरिने र सबै क्षेत्रको सर्वेक्षणपछि तथ्याङ्कको काम गरिने जनाइएको छ ।
चितवन र पर्सालाई तीन ब्लक बनाएर सो सर्वेक्षण गत मङ्सिर १९ गते चितवनबाट सुरुआत गरिएको हो । पहिलो र दोस्रो ब्लकमा ‘क्यामेरा ट्रयापिङ’का काम सम्पन्न भएसँगै तेस्रो ब्लकमा काम थालिएको हो ।
क्यामेरा ट्रयापिङको विधिबाट बाघ सर्वेक्षण गरिएको हो । प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरेर सर्वेक्षण गरिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसारसर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइण्डर, जिपीएस र रेकर्ड फर्मलगायतका सामग्री प्रयोग भएका छन् ।
अहिले क्यामेराले सङ्कलन गरेका फोटो ल्यापटप र कम्युटरमा जम्मा गर्ने काम भइरहेको छ । तीनवटै ब्लकमा सर्वेक्षणको काम सकिएलगत्तै क्यामेराबाट खिचिएका फोटो एकै ठाउँमा जम्मा गरी विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने उनले जानकारी दिए ।
प्रतिक्रिया