चुनावको मिति तोकेर पालिकालाई पूर्णता दिने जिम्मेवारी सरकारको हो : आयोग



काठमाण्डौ । निर्वाचन आयोगले चुनावको मिति तोकेर पालिकालाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ । पालिकाका प्रतिनिधिको पदावधि सकिँदै गएकाले आउँदो जेठ ५ गतेअघि नै चुनाव गराएर पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो ।

आज आइतवार हामीसँगको कुराकानीमा आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो चुनावको हकमा चुनावको मिति तोकिएको सातौँ दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने बताउनुभयो ।

२०७४ जेठ ३० गते चुनाव भएको आधारबाट हेर्दा जेठको ५ गते राति १२ बजेदेखि अहिलेका पालिकाका प्रतिनिधिको पदावधि सकिने आयोगका सहप्रवक्ता धमलाले उल्लेख गर्नुभयो । उहाँले चुनाव राजनीतिक र कानुनी विषय भएकाले यसको तयारीका लागि एक सय २० दिनको समय रहेकाले सरकारले चाँडै मिति तोकिदिएमा तयारीमा जुट्न सजिलो हुने र तयारी राम्रोसँग गर्न सकिने बताउनुभयो ।

सहप्रवक्ता धमलाले पालिकाका प्रतिनिधिको पदावधिको समय सकिँदै गएको र त्यसलाई लम्ब्याउने र छोट्याउने प्रावधान कानुनले नदिएकले संविधानले तोकेको समयमा नै चुनाव गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले चुनावको मिति अब छिट्टै घोषणा गर्नुपर्छ । त्यसो नभए समयमा चुनाव गर्न सकिँदैन, सबै स्पष्ट भइसकेको विषय हो । पालिकाका प्रतिनिधिको पदावधि सकिँदै छ, पदावधि बढाउने, लम्ब्याउने प्रावधान कानुनले दिएको जस्तो लाग्दैन, त्यसो हुँदा पालिकालाई खाली राख्नु पनि हुँदैन ।’

निर्वाचन आयोगले पालिकाको चुनाव र पदावधीसम्बन्धी सबै जानकारी सबै राजनीतिक दललाई औपचारिक रूपमा गराइसकेको बताएको छ ।

सम्बन्धित समाचार