ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै



बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्ततस् नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै ग्रिस पठाइएको छ ।

टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर चार नेपालीको मृत्यु भएको थियो ।

‘हामीले आवश्यक रकम एजेन्सीलाई बुझाइसकेका छौं’ सहकोषाध्यक्ष दाहालले भने, ‘ ग्रिसमा अहिले अत्याधिक हिउँ परिरहेको छ । यदि उडान प्रभावित नभएमा शनिबार ग्रिसबाट नेपाल पठाउने योजना छ।’

दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका ३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका ५ तनहुँका ओम भनिने उमबहादुर थापामगरका परिवारजनले शव पठाउन सहयोगका लागि एनआरएनएलाई गुहारेका थिए ।

टर्कीसम्म श्रम स्वीकृत लिएर आएको भन्दै अन्य दुई जनाको खर्च भने श्रमिक कल्याणकारी कोषको रकमबाट नेपाल सरकारले ब्यहोरेको थियो । भीमेश्वर नगरपालिका ६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका ४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव बुधबारसम्म नेपाल पुग्ने नेपाली राजदूतावास भियानाले जनाएको छ ।

सम्बन्धित समाचार