सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी



काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मतदान सातवटै प्रदेशहरूका तोकिएको मतदानस्थलमा मतदान जारी छ। बिहान ९ बजेबाट मतदान सुरु भएको हो।

जसअनुसार प्रदेश १ मा २ वटा मतदानस्थल तोकिएको छ। गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेशसभा सदस्यको लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानको व्यवस्था गरिएको छ।

त्यसैगरी, मधेश प्रदेशमा जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा मतदान कार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, हेटौडामा बागमती प्रदेशको, प्रदेश निर्वाचन कार्यालय पोखरामा गण्डकी प्रदेश, कर्मचारी मिलन केन्द्र, दाङमा लुम्विनी प्रदेशको मतदान भइरहेको छ।

कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदान भइरहेको छ भने सुदूरपश्चिम प्रदेशको प्रदेशसभा भवन धनघढीमा मतदान भइरहेको छ।

सातै प्रदेशको कुल मतदाता २०२५ जना रहेका छन्। जसअनुसार प्रदेश १ मा प्रदेशसभा सदस्य ९२ जना र स्थानीय तहको २७२ जना सदस्यहरुले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नेछन्। मधेश प्रदेशमा १०४ जना प्रदेश सदस्य र स्थानीय तहको २६८ जनागरी ३७२ जना मतदाता रहेका छन्।

बागमती प्रदेशमा ३४६ जना, गण्डकी प्रदेशमा २२९ जना, २९६ जना लुम्विनी प्रदेशमा, कर्णाली प्रदेशमा १९१ जना र सुदूरपश्चिम प्रदेशमा २२७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। बिहान नौं बजेबाट सुरु भएको मतदान अपरान्ह ३ बजे सकिनेछ।

निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक्लै भिड्दैछ।

 

सम्बन्धित समाचार