रसुवागढी नाकाबाट सामग्री आयात निर्यात रोकियो



रसुवा । रसुवागढी नाकाबाट हिजोदेखि सामग्री आयात निर्यात रोकिएको छ । चिनियाँ नयाँ वर्षको कारण सामग्री आउने क्रम रोकिएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

चीनमा आज नयाँ वर्ष परेकाले हिजोदेखि एक हप्तासम्मका लागि सामान आयात नहुने कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो ।

केरुङमा रहेका कर्मचारी घर गएका कारण सामग्री आयात निर्यात रोकिएको हो । ल्होसारको समयमा हरेक वर्ष नाकाबाट आयात निर्यात रोकिने गरेको छ । चिनियाँ भन्सार कार्यालयले आइतवारसम्म गाडीमा सिल लगाएको थियो । अब करिब ७ दिन जति सामग्री नआउने उहाँले बताउनुभयो ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

सम्बन्धित समाचार