एमसीसीमा प्रधानमन्त्री देउवाका तीन विकल्प



काठमाडौं । बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर बाहिरिनेबित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पार्टीसम्वद्ध विद्यार्थीहरुको कार्यक्रममा पुगेर भने, ‘सत्ता गठबन्धन टुट्दैन ।’

बुधबार नै आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि अध्यक्ष नेपालले उही अभिव्यक्ति दोहोर्‍याएर भने, ‘सत्ता गठबन्धन टुट्दैन ।’

नेपालमात्रै होइन, पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यही वाक्य बारम्बार भन्ने गर्छन् । तर गठबन्धन टुट्दैन भन्ने अभिव्यक्तिको पछाडि टुटिहाल्छ कि भन्ने भय भने जबरजस्त लुकेको छ । र, भयको सिर्जना गरेको हो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर प्रधानमन्त्री देउवामाथिको दबाव ।

प्रधानमन्त्री देउवा हर हालतमा संसदमा एमसीसी टेबल गर्न चाहन्छन् । उनले बुधबार पनि सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई विहान र साँझ दुई पटक भेटेर पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्नेमा जोड लिएका छन् । तर दुबै नेता त्यसमा सहमत छैनन् ।

‘प्रधानमन्त्रीले कुनै हालतले पास गर्छु भन्ने कमिटमेन्ट देखिँदैन, तर अमेरिकालाई मैले त संसदमा लगेँ, पास भएन त के गरुँ भन्न पाए हुन्थ्यो भन्ने छ’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, हामी संसदमा टेबल गर्न सहमति दिँदैनौं ।’

संसदमा टेबल हुनसाथ सांसदहरु ‘थ्रेट’मा पर्ने भएकाले स्थितिमा एमसीसी अगाडि नबढ्ने दुबै दलको अडान छ । प्रमुख विपक्षी नेकपा एमालेले पनि सत्तारुढ गठबन्धन कायम रहँदासम्म एमसीसी अनुमोदनमा साथ नदिने प्रष्ट बताएको छ ।

त्यसैले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा पछिल्लो समय अहिलेकै परिस्थितिमा एमसीसी अनुमोदन गर्ने वा गठबन्धन जोगाउने अर्थात ‘गर या मर’ को अवस्थामा पुगेका निकटवर्तीहरु बताउँछन् ।

एमसीसीसम्बन्धी परियोजना जसरी भए पनि संसदबाट अनुमोदन गराउन अमेरिकाले दिएको दबाव र गठबन्धनमा देखिएको टकरावका कारण प्रधानमन्त्री देउवाका अघिल्तिर अब तीन वटामात्रै विकल्प देखिन्छन् । कम क्षतिपूर्ण विकल्प कुन हुनसक्छ भनेर उनले परामर्श समेत शुरु गरेको निकटस्थहरु बताउँछन् ।

सम्बन्धित समाचार