सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु



काठमाडौं । बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ। मकवानपुर, लमजुङ, नुवाकोट र उदयपुरमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित सडकमा ना६ ख ८४२५ नम्बरको बस र बागमती प्रदेश ०२ ०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बकैया गाउँपालिका ७ बस्ने ३७ वर्षीय शिव प्रसाद सुबेदीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखा सैलुङ गाउँपालिका ९५ मातादेउराली बस्ने ४६ वर्षीय थनक प्रसाद दुलाललाई थप उपचारको लागि चुरेहिल अस्पताल पठाइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, लमजुङको राइनास नगरपालिका ६ घामेको भिरस्थित सडकमा ग१त ४४४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अमृत सिलवालको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोट, किस्पाङ गाउँपालिका ५ नयाँपुलस्थित सडकमा बुधबार दिउँसो बा३ख ८५०० नम्बरको टिपर र बा७१ प ४६७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका(५ मानेगाउँ बस्ने ३२ वर्षीय यम बहादुर तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी नुवाकोटकै लिखु गाउँपालिका ३ डुडेस्थित सडकमा बा.१५ च ७४०७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम शरण जर्घा मगरको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी उदयपुरको कटारी नगरपालिका ३ हडियास्थित चौरमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही नगरपालिका देबिधाप बस्ने ७० वर्षीय बिनिलाल दनुवारको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी कार्य गरिरहेको छ।

सम्बन्धित समाचार