प्युठान जिप दुर्घटना अपडेट : मृतक सातजनाको सनाखत



काठमाडौं । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटनामा मृत्यु हुने आठमध्ये सातजनाको पहिचान खुलेको छ। नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटना भएको हो।

दुर्घटनामा गौमुखी ६ का ३९ वर्षीय वसन्त खड्का, ४० वर्षीया वसन्ती खड्का‚ ११ वर्षीया एलिसा खड्का‚ २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खेमबहादुर खत्री‚ ५२ वर्षीया नन्दी खड्का र ५० वर्षीय बलबहादुर बुढा मगरको मृत्यु भएको छ। करिब २० वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ।

जिप अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार