रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि



काठमाडौं । रुस र युक्रेनबीचको तनावलाई बहाना बनाउँदै व्यापारीहरुले सबै प्रकारका खाद्यान्नमा उच्च मूल्य वृद्धि गरेका छन् ।

महँगीले उपभोक्ता मारमा परिरहेको बेला प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने बजारमा हस्तक्षेप बढाउन सकेको छैन ।

आयातित कच्चा पदार्थको मूल्य महँगिएको भन्दै दुई साताअघि मात्रै उद्योगीले खाने तेलको मूल्य बढाएका थिए । नेपाल वनस्पती घिउ तेल उत्पादक संघकाअनुसार कच्चा पदार्थ महँगो हुँदा सबै प्रकारका तेलमा प्रतिलिटर १५ रुपैयाँसम्म मूल्य बढाइएको छ ।

खाने तेलमा भएको मूल्य वृद्धिको एकसाता नबित्दै बजारमा दूध र दूधबाट बनेका सबै प्रकारका परिकारको मूल्य बढ्यो । दूधको मूल्य लिटरमा ९ देखि २० रुपैयाँसम्म वृद्धि हुँदा पनिर, घिउ, दही जस्ता दुग्ध पदार्थको कम्तीमा १० देखि बढीमा १०० रुपैयाँसम्मले बढेको नेपाल डेरी उद्योग संघले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा नेपाल खुद्रा व्यापार संघले पठाएको विवरणअनुसार चालु आवको ६ महिनाको अवधिमा धेरै प्रकारका खाद्य वस्तुको मूल्य थोकमै वृद्धि भएको छ । थोकदेखि खुद्रासम्मै दलहन, गेडागुडी, चिनी, मैदा, आँटा जस्ता अत्यावश्यक वस्तुको मूल्य बढ्दा कोरोना महामारीका कारण क्रयशक्ति गुमाएका सर्वसाधारणको भान्सा थप महँगो बन्न पुगेको छ ।

उपभोक्ता अधिकारकर्मीहरुकाअनुसार बजार हस्तक्षेप गर्न केन्द्रीय सरकारका निकाय, प्रदेश र स्थानीय तह जिम्मेवार नबन्दा निर्माण सामग्रीदेखि सबै खाले वस्तुको मूल्य बढीरहेको छ ।

‘रुस-युक्रेन तनावको असर अझै बढ्न सक्छ’

रसिया र युक्रेनबीचको आपसी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको तेल उद्योगीहरु तर्क गर्छन् । तेलको कच्चा पदार्थ आयात हुने ब्राजिलमा मौसम प्रतिकूल हुनुले पनि तेलको मूल्य बढीरहेको उनीहरुको भनाइ छ ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघका निवर्तमान अध्यक्ष विकास दुगड रुस(युक्रेन तनावको असर बजारमा अझै बढ्न सक्ने संकेत गर्छन् । ‘तोरी, भटमास, सनफ्लावर सबै प्रकारका तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको छ । नेपाली बजारमा त्यसैको प्रभाव देखिएको हो,’ दुगडले भने, ‘लिटरमा १० देखि १५ रुपैयाँ सबै प्रकारका तेलको मूल्य खुद्रामै बढेको छ ।’

डेरी उद्योग संघले भने उत्पादन लागत बढेका कारण दूधको मूल्य बढाउनु अनिवार्य भएको दाबी गरेको छ । दाना, चोकर लगायतको दूग्ध उत्पादनमा सहयोगी कच्चा पदार्थको मूल्य बढेका कारण किसान पेशाबाट पलायन हुने अवस्था बनेको संघका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । ‘किसान बचाउन पनि मूल्य बढाउनु पर्ने थियो, लागत बढेपछि मूल्य बढ्नु स्वाभाविक हो,’ दाहालले भने । बढेको दूधको मूल्यमा पनि किसान र उद्योगीलाई नाफा नभएको उनको दाहालले बताए ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र ढुवानीमा लागत बढ्दा खाद्यान्नको मूल्य बढेको होलसेल खाद्यान्न व्यापारीहरुको दाबी छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर बजारमा देखिएको होलसेल खाद्यान्न व्यवसायीहरुको छाता संस्था नेपाल किराना व्यवसायी संघको दाबी छ । खाद्यान्नको मूल्यमा केही वृद्धि देखिए पनि यो अघिल्ला वर्षहरुभन्दा भने कम नै रहेको संघको दाबी छ ।

सम्बन्धित समाचार