बिर्तामोड । झापाको देहाती बस्ती चिल्लारामा २ सय ५० बढी घरपरिवारको बसोबास छ । बस्तीमा करिब एक किलोमिटरको दूरीमा दुइटा प्राथमिक विद्यालय छन् । बस्तीको दक्षिणमा छ, चिल्लारा प्राथमिक विद्यालय ।
उक्त विद्यालयमा ९४ जना विद्यार्थी अध्ययनरत छन् । लोपन्मुख, सिमान्तकृत समुदाय मुसहर, माझी, सन्थाल र राजवंशी जातिका बालबालिका पढ्छन् । गौरीगन्ज गाउँपालिका ५ स्थित घना बस्तीमा विद्यालय अति आवश्यक छ । तर, चिल्लारा प्राविको हाल बेहाल छ । स्थानीय विष्णु राजवंशीले ५ कट्ठा जग्गा निःशुल्क दान गरेपछि २०६७ सालमा स्थापित विद्यालयमा ७ कोठाको एउटा भवन छ । त्यसमा एउटालाई स्टोर रुम बनाइएको छ । एउटामा कार्यालय र किचन सँगै राखिएको छ । बाँकीमा बालविकासदेखि कक्षा ४ सम्म पठनपाठन हुन्छ ।
विद्यालयमा एउटै पनि शिक्षक दरबन्दी छैन । गाउँपालिकाले निजी स्रोतबाट तीन जना शिक्षक राखेको छ । एक जना कार्यालय सहयोगी छन् । विद्यालयमा घेराबारा छैन् । घेराबारा नभएका कारण विद्यालय समयमै स्थानीयले प्रांगणमा चौपाया बाँधिदिन्छन् । कसैले धान सुकाउँछन् । खुल्ला भएकाले प्रांगणबाटै स्थानीयले ट्र्याक्टर चलाइदिन्छन् । ‘ट्र्याक्टर ओहोरदोहोर गर्दा पठनपाठनमा बाधा पर्छ । स्थानीयले धान सुकाउँदा र गाईबस्तु बाँध्दा विद्यार्थीले चौरमा खेल्न पनि पाउँदैनन्,’ शिक्षिका गीता राजवंशीले भनिन् ।
शिक्षक अभावमा एउटै कोठामा दुइटा कक्षा पढाउनुपर्ने बाध्यता छ । ‘शिक्षकले पाँच वटा कक्षा पढाउन कसरी भ्याउनु रु’ प्रधानाध्यापक बाबुराजा राजवंशीले भने, ‘बालविकासमा कक्षा १ तथा कक्षा ३ मा कक्षा ४ का विद्यार्थीलाई पनि सँगै राखेर पढाउँदै आएका छौं ।’ एउटा कोठामा दुइटा कक्षाका विद्यार्थी राखेर पढाउन समस्या हुने गरेको प्रअ राजवंशीको भनाइ छ ।
‘बालविकाससहित कक्षा ४ सम्मको पठनपाठन गराउन नै भ्याउदैनौं । दुइटा कक्षा एउटै कोठामा राखेर पढाउनुपर्छ । कि त एकछिन यता एकछिन उता गरेर एकै समयमा एक जना शिक्षकले दुइटा कक्षा पढाउनुपर्छ,’ प्रअ राजवंशीले भने, ‘शिक्षक नभएकै कारण तीन वर्षदेखि कक्षा ५ स्थगित गरेका छौं ।’
शिक्षक अभावका कारण विद्यार्थीको पढाइमा समस्या परेको बारे पटकपटक गाउँपालिकालाई जानकारी गराएको प्रअ राजवंशीको भनाइ छ । ‘दरबन्दीमा शिक्षक तत्काल खटाउने आश्वासन गाउँपालिकाले दिदै आएको छ । तर समस्याप्रति गम्भीर भएको पाएका छैनौं,’ उनले भने ।
विद्यालयमा निजी स्रोतबाट नियुक्ति पाएका शिक्षकले न्यूनतम पारिश्रमिकसमेत पाएका छैनन् । दुई जना शिक्षिकाले जनही मासिक ९ हजार ५ सय तथा प्रअ राजवंशीले मासिक १० हजार रुपैयाँमा काम गर्दै आएका छन् । ‘सरकारको निर्णयअनुसार बालविकासका शिक्षकलाई मासिक न्यूनतम १५ हजार रुपैयाँ दिनुपर्ने नियम छ । तर, हामी बालविकाससहित कक्षा ४ सम्म पढाउनेले मासिक १० हजार पनि पाएका छौंनौं,’ शिक्षिका शोभा राजवंशीले भनिन् ।
विद्यालयमा स्थानीय विषयका रूपमा राजवंशी भाषाको पढाइसमेत हुन्छ । नेपाली राष्ट्रिय भाषाहरू संरक्षण संस्था ललितपुरले राजवंशी भाषाको पाठ्यपुस्तक तयार गरेर निःशुल्क उपलब्ध गराएको छ । ‘बालविकास र कक्षा १ सम्मका विद्यार्थीले नेपाली भाषा बुझ्दैनन्रबोल्न जान्दैनन् । उनीहरूलाई स्थानीय राजवंशी भाषाकै माध्यमबाट पढाउनुपर्छ,’ शिक्षिका गीता राजवंशीले भनिन् ।
प्रतिक्रिया