बैतडी । बैतडीको पाटनमा सोमबार अपरान्ह भएको टिप्पर दुर्घटनामा मृतकको संख्या चार पुगेको छ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र ४५ वर्षीय जनकराज पन्त छन्। राजेन्द्रको उपचारको क्रममा डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमा तथा अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा पाटन नगरपालिका ३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ अमित विष्ट ,१२ सुदीप पन्त र महेशप्रसाद पन्त छन्।
उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकोले धनगढी रेफर गरिएको छ। अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा मृत्यु भएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेल्धुरा अस्पतालमा छ।
गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर सोमबार अपरान्ह ४ बजेतिर भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो। विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो।
दुर्घटनाग्रस्त टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए। टिप्परका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
प्रतिक्रिया