वीरगञ्ज । बारामा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय ती व्यक्तिको सनाखत भने भएको छैन ।
प्रहरीका अनुसार बुधबार राति ११ बजेतिर सिम्रौनगढ-महुवाहीमा लागुऔषध गाँजा तस्करसँग दोहोरो फायरिंग भएको थियो । सोही क्रममा गम्भीर घाइते भएका एक जनाको कलैया अस्पतालमा उपचारको क्रममा राति पौने २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
‘राति गाँजा तस्करसँग जम्काभेट भयो, उनीहरूले फायरिंग गरेपछि प्रहरीले जवाफी फायरिंग गरेर दुईजनालाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘ एक जनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।’
भारत बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने वर्ष ४० को हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार महुवाहीमा लागुऔषध ७५ किलो गाँजा पाँच वटा जुटको बोरामा ७र८ जना मानिसहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै थिए ।
प्रतिक्रिया