पाँचथर । तुम्बेवा–४ बलनेकी २९ वर्षीया एक महिला १२ वर्षदेखि बन्द कोठामा जीवन बिताउन बाध्य छिन् । मानसिक सन्तुलन गुमेपछि लामो समयसम्म कोठामा हुँदा खुट्टा कुँजिएका छन्, शरीर दुब्लाएको छ ।
रुने, कराउने चिच्याउनेदेखि आफैंले लगाएका कपडा च्यात्ने उनको स्वभाव छ । नयाँ मान्छे भेटे कुट्ने, पिट्ने गर्न थालेपछि कोठामा थुनेर राखेको उनकी भाउजूले बताइन् । उनका अनुसार उनलाई साढे १३ वर्षअघि पहिलो पटक मानसिक समस्या देखिएको थियो । थुनेर राखेको नै १२ वर्ष बितिसकेको छ ।
यसअघि उनलाई आमाले स्याहारसुसार गर्दै आएकी थिइन् । ‘क्यान्सरपीडित आमाको गत पुसमा निधनपछि नन्द बहिनीको स्वास्थ्य झनै बिग्रिँदै गयो । स्याहारसुसार गर्ने आमा बितेपछि झनै समस्या भयो,’ उनकी भाउजूले भनिन् । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको परिवारका सदस्य बताउँछन् ।
मानसिक रोगीको निःशुल्क उपचार हुने भन्ने सुने पनि मेलोमेसो नपाउँदा नन्दलाई कोठामै थुनेर राख्नुपरेको भाउनूको भनाइ छ । उनलाई दिसापिसाब गर्न कोठामै चर्पी बनाइएको छ ।
प्रतिक्रिया