पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि महासङ्घको पहल



काठमाण्डौ । दुबईमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले पहल थालेको छ ।

पाण्डेको तत्काल रिहाइका लागि पहल गरिदिन महासङ्घले परराष्ट्र मन्त्री नारायण खड्कालाई ध्यानाकर्षण गराउँदैछ । सामाजिक सञ्जाल फेसबुकमार्फत यूएईमा रहेको नेपाली दूतावासको आलोचना गरेको आरोपमा पत्रकार पाण्डेलाई त्यहाँको अदालतले तीन महिना जेल सजाय र झण्डै ८ लाख रुपैयाँ जरिबाना सुनाएकाले रिहाइका लागि पहल थालिएको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

अदालतले तीन महिना कैद सजाय र सात लाख ९९ हजार चार सय रुपैयाँ जरिबानासहित पाण्डेका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक पनि बन्द गरिने फैसला सुनाएको छ । यस्तै, सजाय भुक्तानीपछि यूएई सरकारले देश निष्कासन ९डिपोर्ट० गर्ने फैसला गरेको छ ।

गएको जनवरीमा पाण्डेले यूएईमा रहेको नेपाली दूतावासको गतिविधिको आलोचना गर्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो । यही स्टाटसकै कारण दूतावासका कर्मचारीले पाण्डे विरुद्ध दुबई प्रहरीमा उजुरी दिएका परिवारले बताएका छन् ।

गएको ३ गते पाण्डेलाई प्रहरीले पक्राउ गरेर अबुधाबीमा रहेको अलवाथ्बा जेलमा राखिएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर गरी सजायको फैसला गरिनु अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको महासङ्घका महासचिव पुरीले बताउनुभयो । उहाँले यो फैसलाको विरोध गर्दै फैसला विरुद्ध अपिल गर्ने पनि बताउनुभयो ।

दुबईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । पाण्डे केही वर्षयता परिवारसहित दुबईमा बस्दै आउनुभएको छ ।

सम्बन्धित समाचार