बिहे गरेको एक महिनामै श्रीमतीको हत्या



जनकपुरधाम । श्रीमती हत्याको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका ७ प्रेमनगरका अमर राउत पक्राउ परेका छन् ।

२३ वर्षका अमरले २२ वर्षकी पत्नी पूजा पोद्दारको हत्या गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका अमरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । घटनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अमर र काठमाडौं महानगरपालिका–२० जैसीदेवलकी २२ वर्षीया पूजा पोद्दारबीच २७ माघमा काठमाडौंको भद्रकाली मन्दिरमा विवाह भएको थियो । प्रेम सम्बन्धपछि आफूखुसी विवाह गरेका उनीहरु विवाहपछि काठमाडौंको बाफलमा डेरामा बस्थे ।

प्रहरीका अनुसार उनीहरुको विवाहलाई अमरको परिवारले स्वीकार गरेको थिएन । अमर परिवारलाई मनाउन भन्दै घर गएका थिए । अमर काठमाडौं नफर्किएपछि १६ फागुनमा पूजा पनि सिरहा पुगेकी थिइन् । सिरहाको वस्तीपुर पुगेपछि उनले अमरलाई लिन बोलाएकी थिइन् ।

‘अमरले आफू बाहिर रहेको र साँझ लिन आउने बताएका थिए’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले भने, ‘साँझमा भेट्न पुगेका उनले पूजालाई कमला नदीको किनारमा लगी घाँटी थिचेर हत्या गरेका रहेछन् ।’

सम्बन्धित समाचार