विराटनगर । सवारीसाधनको जथाभावी पार्किङले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएसँगै प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका कुरूप बन्दै गएको छ। बढ्दो सवारी चापसँगै अव्यवस्थित पार्किङका कारण विराटनगर अस्तव्यस्त बनिरहेको हो। बजारभित्रको मेन रोड, रंगेली रोड, बाटा रोड, ट्राफिक चोक, महेन्द्र चोक लगायत दर्जनौं स्थानका सडकलाई सवारीसाधन पार्किङ गर्ने थलो बनाइएको छ। कोसी लोकमार्गअन्तर्गतको ६ लेन सडकको एउटा लेनमा पार्किङ गरिएका सवारीसाधनको ताँती देख्न सकिन्छ।
विराटनगरमा व्यवस्थित पार्किङस्थलको अभाव छ। बजार क्षेत्र, सार्वजनिकस्थल, निजी अस्पतालअगाडिका सडक तथा मुख्य सडकको दुवैतर्फ पार्किङस्थलका रूपमा प्रयोग हुँदै आएका छन्। २ लेन सडकमा एउटा लेन पार्किङका लागि प्रयोग गरिँदा सवारी आवागमन प्रभावित हुने गरेको छ। अव्यवस्थित पार्किङले सवारी जाम बढाएको छ। दुर्घटनाको जोखिम उत्तिकै छ।
महानगरपालिकाले पसलहरु हटाएर फुटपाथ खाली गरेको भएपनि सडक र पेटी भने सवारी पार्किङमा प्रयोग हुने गरेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। उनका अनुसार ट्राफिक र नेपाल प्रहरीसहित महानगर कार्यालय तथा नगर प्रहरी ट्राफिक व्यवस्थापनमा सक्रिय छन्। संयुक्त रूपमा काम भइरहे पनि ट्राफिक व्यवस्थापनलाई भने चुस्त बनाउन गाह्रो परिरहेको खड्काले बताए।
‘सडक र निषेधित क्षेत्रमा निर्वाधरूपले पार्किङ गर्ने चलन बढ्दो छ,’ उनले भने, ‘अस्पताल र मुख्य बजार क्षेत्रका सडक पार्किङ गरिएका सवारीसाधनले भरिने गरेका छन्।’ महानगरभित्र छाडिने छाडा चौपाया र बढ्दो सिटी सफारीको संख्याले पनि ट्राफिक व्यवस्थापनमा चुनाती थपेको प्रनि खड्काको भनाइ छ। उनका अनुसार साइकल, सिटी सफारी, अटो टेम्पो, मोटरसाइकल, अन्य निजी तथा सरकारी सवारीसाधन र ढुवानीका साधन सडकमै पार्किङ गर्ने गरिएको छ।
कतिपयस्थानमा पार्किङलाई निषेध गरेर ट्राफिक व्यवस्थापनको प्रयास भइरहेको उनले बताए। भने, ‘निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्दै सचेत गराएर छाड्ने गरिएको छ।’ पार्किङका कारण सडकमा सवारी आवागमन तथा फुटपाथमा पैदल यात्रीलाई आवतजावतमा समस्या भइरहेको छ।
सडकलाई व्यवस्थित बनाउनेतर्फ सबैको ध्यान जान जरुरी रहेको खड्काले बताए। ट्राफिक कार्यालय साँघुरो र जीर्ण भएकाले नियम उल्लंघन गरेका सवारीसाधनलाई कारबाहीका लागि ल्याउँदा राख्ने ठाउँको अभाव भइरहेको उनको भनाइ छ। ‘ठाउँको अभावले कारबाहीका लागि ल्याइएका सवारी राख्न गाह्रो छ। अर्कातिर चोरी हुने समस्या पनि छ,’ खड्काले भने, ‘सडकलाई पार्किङ स्थल बनाइँदा ट्राफिक व्यवस्थापन भद्रगोल बन्यो। यो विराटनगरको ठूलो समस्या हो।’
‘विराटनगरमा पार्किङस्थलको अभाव छ। जथाभावी पार्किङले सिंगो शहरलाई कुरुप बनाउँदै लगिरहेको छ,’ खड्काले भने, ‘अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम पनि बढायो। सडकलाई व्यवस्थित र सुरक्षित बनाउने खालका कार्यक्रम सञ्चालन गरिए ट्राफिक व्यवस्थापनमा सहजता हुने थियो।’
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरभित्रको भद्रगोल ट्राफिक व्यवस्थापनको समस्या सुल्झाउन नयाँ विकल्पको खोजी गर्नलाई पटकपटक सरोकारवालासँग छलफल चलाइसकेको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको सक्रियतामा छलफल चलाइएको हो। उनले ट्राफिक व्यवस्थापन विराटनगरको जल्दोबल्दो समस्याका रूपमा रहेको बताए। ‘विराटनगरमा सवारीसाधनलाई पार्किङ स्थलको अभाव छ,’ प्रजिअ दाहालले भने, ‘बढ्दो सवारी चापले झन् समस्या थपिँदै गएको छ।’
विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंले सवारी पार्किङलाई व्यवस्थित बनाउनका लागि संघले जग्गा उपलब्ध गराउने बताए। प्रसाईंले पार्किङलाई व्यवस्थित बनाइँदा सडकमा सवारी आवागमन सहज बन्ने र दुर्घटनाको जोखिम पनि कम हुने उल्लेख गरे। ‘सवारी पार्किङका लागि संघले जग्गा उपलब्ध गराउँछ,’ उनले भने, ‘त्यही जग्गालाई व्यवस्थित बनाएर पार्किङस्थल बनाउनुपर्छ।’
विराटनगरमा ट्राफिक व्यवस्थापनका लागि चाँसो दिँदै प्रदेश सरकारले काम सुरु गर्न लागेको छ। प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले ट्राफिक व्यवस्थापनमा प्रदेश सरकार गम्भीर बनेको बताए। प्रशासन कार्यालयमा सोमबार आयोजित ‘महानगरको ट्राफिक व्यवस्थापन’ सम्बन्धी छलफल कार्यक्रममा घिमिरेले सबै सरोकारवाला पक्षसँग समन्वय गरेर अघि बढ्ने योजनामा सरकार रहेको जानकारी दिए।
यातायात क्षेत्र प्रदेश सरकार मातहत रहेकाले त्यहाँबाट उत्पन्न समस्याको समाधान पनि प्रदेशले नै खोज्ने उनले स्पष्ट पारेका छन्। सुदूरपश्चिम प्रदेशबाट विराटनगर आएका प्रदेश सांसदले पनि ट्राफिक व्यवस्थापनको अवस्था भद्रगोल रहेको भनेर टिप्पणी गरेको मन्त्री मन्त्री घिमिरेको भनाइ छ। उनले ट्राफिक व्यवस्थापनको कामलाई प्रदेश सरकारले इमान्दारिताका साथ तत्काल अघि बढाउने जानकारी दिए।
उनका अनुसार सेवा लिन आउनेलाई सेवा प्रदायकले सावारीसाधन पार्किङको व्यवस्थापन गरिदिन नसकेको पाइएको छ। निजी अस्पताल, विभिन्न सार्वजनिक स्थल र सडकमा समेत जथाभावी सवारीसाधन पार्किङ गर्दा ट्राफिक व्यवस्थापनको काम भद्रगोल बनेर गएको मन्त्री घिमिरेको भनाइ छ। उनले पार्किङ र सडक बत्तीको व्यवस्थापन सरकारले गर्ने बताए। साथै सवारीसाधनलाई क्षमताभन्दा बढी वजन बोक्न प्रतिबन्ध लगाउने तयारीमा सरकार रहेको उनको भनाइ छ।
बजारमा बढ्दो सिटी सफारी र अटोको चापलाई मध्यनजर गरेर व्यवस्थापनको काम थाल्ने तयारी सरकारले गरिरहेको मन्त्री घिमिरेले बताए। ‘मन्त्रिपरिषद् वा मन्त्रीस्तरीय निर्णय गरेर भए पनि सफारी दर्ताका लागि प्रक्रिया अघि बढाइने छ। चालकलाई सवारीचालक अनुमति पत्र ९लाइसेन्स० दिलाउने विषयमा पनि छलफल अघि बढाउँछौं,’ मन्त्री घिमिरेले भने, ‘ट्राफिक व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर भएर लागेको छ। यसमा सबैले साथ दिनुपर्छ।’
प्रतिक्रिया