विराटनगर महानगरपालिका–१९ धरमपुरामा एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको घरको सिकुवा र आँगन ढलाई गरेर पक्की बनाइएको छ । सामूहिक बस्ती विकासको गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ घरमा ३२ ऋषिदेव परिवारको बसोबास छ ।
‘महानगर आवास’ योजनाअन्तर्गत विपन्न मुसहर समुदायको लागि विराटनगर महानगरपालिकाले बस्ती निर्माण गरी समुदायमा हस्तान्तरण गरेको हो । नयाँ घरमा सरेपछि अब सिङ्घिया खोलाको बाढीको त्रास कम भएको छ ।
‘अब त चैनको निद्रा पर्न थालेको छ,’ स्थानीय कविता ऋषिदेवले भनिन्, ‘छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पिर छैन ।’एक परिवारका लागि दुईवटा सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर बनाइएको छ ।
विराटनगर महानगरपालिकाले बस्तीमा नाला, बाटो बनाई खानेपानीका लागि ट्युबेल जडान गरिदिएको छ । स्थानीय लालसे ऋषिदेव पनि घर पाएपछि खुसी छन् । ‘हाम्रो त दिन फिरेर आएको छ । अहिले त पक्की घरमा बस्न पाइएको छ,’ उनले भने, ‘हामीजस्ता धेरै गरीबसँग अहिले आफ्नै घर छ ।’
कविता र लालसे जस्तै मुनिश्री ऋषिदेवका दिन पनि फिरेका छन् । श्रीमान् र उनी दैनिक ज्यालादारीमा श्रम गर्छन् । दैनिक हुने कमाइले परिवार चलेको छ । छोराछोरीलाई पनि नजिकैको आधारभूत विद्यालयमा पढाउन सजिलो भएको छ । मुनिश्री भन्छिन्, ‘हाम्रो बस्ती नै नयाँ ठाउँमा सरेको छ । अब घर छैन भन्ने चिन्ता हामीलाई छैन ।’
महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहालका अनुसार घर नभएका विपन्न परिवारलाई लक्षित गरी ३२ घर निर्माण गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बाढीबाट हरेक वर्ष डुबानमा पर्ने विपन्नका बस्तीलाई सुरक्षित स्थानमा सार्ने उद्देश्यसाथ आवास योजना अघि सारिएको बताए ।
बस्ती विकासका लागि महानगरपालिकासँग हेबट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका थिए । भवन निर्माणको सबै खर्च हेबट्याट्सले गरेको र महानगरले सडक तथा ढल निर्माणमा लगानी गरेको दाहालले बताए ।
प्रतिक्रिया