नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। थाइल्याण्डमा नेपालले दुई खेल खेल्दा एक खेल भने स्थानीय क्लबसँग खेल्ने छ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले थाइल्याण्डसँग २४ मार्चमा प्रतिस्पर्धा गर्दा थाइल्याण्डको क्लब चोनबरी एफसीसँग २७ मार्च मा अर्को मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। दुवै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको तयारीमा रहेको नेपाली फुटबल टोलीले केही मैत्रीपूर्ण खेलका लागि निरन्तर प्रयास गर्दै आइरहेको थियो। छनोटमा नेपाल समूह ए मा रहेर प्रतिस्पर्धा गर्दै छ। जसमा नेपालले कुवेत, इन्डोनेसिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो समूहका छनोट खेल कुवेतमा खेल्ने छ। एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउने तय भएको छ। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुने छन्।

प्रतियोगिताको छनोट खेल ८ देखि १४ जुनसम्म आयोजना हुँदै छ। नेपालले ८ जुनमा जोर्डनसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा ११ जुनमा कुवेतको सामना गर्नेछ। त्यस्तै १४ जुनमा नेपालले इन्डोनेसियाको सामना गर्नेछ।

सम्बन्धित समाचार