संखुवासभा : जग्गा ठगी प्रकरणमा वडाध्यक्ष सहित ७ जना पक्राउ



संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ की ७४ बर्षिया विममाया तामाङलाई जालसाझी गरेर जग्गा ठगी गर्नमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोटखोला गाउँपालिका वडा नं. ४ का वर्ष ३५ का वडाध्यक्ष किङसाङ भोटे, वर्ष ३० का सुरेन्द्र तामाङ, वर्ष २१ की कल्पना भोटे, वर्ष २० की ङिमा लाजुङ भोटे, खाँदबारी नगरपालिका १ घर भई मालपोत कार्यालय खाँदबारीका नायव सुब्बा वर्ष ५१ का महेन्द्र कुमार पराजुली, मकालु गाउँपालिका वडा नं. ४ घर भई लेखापढी व्यवसायी गर्ने वर्ष ३५ का अनिस गुरुङ र चैनपुर नगरपालिकाका वर्ष ३५ का पासाङ शेर्पा रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार पक्राउपछी सार्वजनिक गरेको हो ।

घटनाको विवरण अनुसार अध्यक्ष भोटेले विममायालाई बृद्धाभत्ताको कार्ड बनाई दिने भन्दै सदरमुकाम खाँदबारी ल्याई जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएर २ गते मालपोत कार्यालयमा स्व. दलबहादुर तामाङको नाममा रहेको सम्पूर्ण जग्गाहरु विममायाको नाममा नामसारी गराएका थिए । सोही दिन नामसारी गरिएका जग्गाहरुमध्ये २७५ र २८० कित्ता नं.को जग्गा आफन्तका नाममा नामसारी गरिएको थियो । जसमध्ये कित्ता नं. २७५ को जग्गा मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुलीले आफ्नै घरमा कोठाभाडामा बस्दै आएका पासाङ शेर्पाको नाममा रजिस्टेशन पास गरेका थिए । त्यस्तै कित्ता नं. २८० को जग्गा वडाध्यक्ष भोटेको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रुपमा पास गरेका थिए ।

कल्पना भोटेको हकमा लेखापढी व्यवसायी अनिस गुरुङको नाममा वारेस पास भएको थियो । सम्पूर्ण कागजात लेखापढी गरे बापत गुरुङले अध्यक्ष भोटे मार्फत ९ हजार रुपैंया पारिश्रमिक स्वरुप लिएका थिए ।

विममाया तर्फका काम सकिए पछि सुरेन्द्रले सोही दिन २ गते राती १ बजेतिर विममायालाई घरमा पुर्याई बृद्धाभत्ता बापतको रकम भनी २० हजार रुपैंया र लालपुर्जासमेत दिई सोहीरात उनी खाँदबारी फर्किएका थिए ।

पासाङ शेर्पाको नाममा पास भएको जग्गा कित्ता नं. २७५ लाई पुन फागुन १६ गते नायवसुब्बा पराजुलीले आफ्नै श्रीमती कविता पराजुलीको नाममा नामसारी गरेका थिए ।

उनीहरुले विममायालाई प्रलोभनमा पारी किर्ते कागज समेत तयार पारी अपर अरुण जलविद्युत परियोजनाबाट ठूलो रकम मुआब्जा लिने प्रयोजनका लागि जग्गा ठगी गरेको बुझिएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार