मेलम्ची खानेपानी आयोजनाको काम ठप्प



काठमाडौं । मेलम्ची खानेपानी आयोजना र संघीय सरकारले पटक(पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आयोजना प्रभावितहरु आन्दोलनमा उत्रेका छन् ।

माग पूरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् । सरकारको बहुप्रतिक्षित आयोजना मेलम्ची खानेपानी आयोजनाले स्थानीय प्रभावितको माग सम्बोधन नगरेको भन्दै बाढी तथा आयोजना प्रभावितहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हन् ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने हेलम्बु बाढीपीडित सरोकार समन्वय समितिका सचिव अर्जुन भण्डारीले बताए।

जमिन संरक्षण र खेतीयोग्य जमिन बनाउनका लागि मुहानदेखि सिपाघाट भिमटारसम्म आयआर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण, सडक, सिंचाई तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी करिडोर एकीकृत विकास आयोजनाको रुपमा एक विशेष दीर्घकालीन आयोजना सरकारले तत्काल संचालन गर्न समेत प्रभावित स्थानीयले माग गरेका छन् ।

आन्दोलनलाई विभिन्न राजनितिक दल तथा मेलम्ची नगरपालिकाले पनि समर्थन जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख डम्बर अर्यालले आन्दोलनलाई सशक्त बनाउन आह्वान समेत गरे । नदीलाई पुरानै धारमा बहाउन, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिराउन र तटीय क्षेत्रका जोखिममा रहेका बस्तीहरुको संरक्षणका लागि आवश्यक बजेट तत्काल आयोजनाबाट उपलब्ध गराउन प्रभावितहरुले माग गरेका छन् ।

प्रभावितहरुको आन्दोलनलाई विभिन्न पार्टीले समेत सघाउने बताएका छन् । माग पूरा नभए थप आन्दोलन गरी आयोजनालाई प्रभावित पार्ने मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पीडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले बताए ।

आयोजनाको काममा भएको ढिलासुस्ती र आन्दोलनका कारण चैत्रभित्र मेलम्ची खानेपानी काठमाडौं झार्ने सरकारको लक्ष्य पूरा नहुने संभावना बढेको छ।

सम्बन्धित समाचार