चर्चित धाविका मिरा राईको जन्मगाउँमा ट्रेल रेसको तयारी



धरान । चर्चित अल्ट्रा रेस धाविका मिरा राई जन्मगाउँमा पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ ।

उनको जन्मगाउँ भोजपुरमा आयोजक मिरा राई फाउण्डेशनले यस्तो ट्रेल रेसको तयारी थालिएको धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आगामी चैत १२ गते रेस हुने फाउण्डेशनका सचिव केशर राईले जानकारी दिए । राईको जन्मथलो भोजपुरको पौवा दुम्मा गाउँपालिका ५ स्थित सानोदुम्माबाट शुरुवात हुने उनले जानकारी दिए ।

प्रतियोगितामा मुख्य स्पर्धा ५० किलोमिटर, १० किलोमिटरको मध्यम रेसको स्पर्धा पनि हुनेछ । ५० किलोमिटरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावक, धाविकाहरु र १० किलोमिटरमा स्थानीयबासीहरुको सहभागिता हुनेछ भने अर्को बालबालिकाहरुको लागि ४ किलोमिटरको रेस आयोजना हुने उनले जानकारी दिए । विभिन्न वडा, गाउँपालिका हुदै शुरुवात विन्दुमा पुगेर नै ५० किलोमिटर रेस समापन हुनेछ ।

५० किलोमिटरको महिला र पुरुष दुवैतर्फका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीहरुले जनही क्रमशः नगद ५०, ५० हजार, ३०, ३० हजार, २०, २० हजार, १०, १० हजार र ५, ५ हजार पाउने आयोजकले जनाएको छ । यस्तै, १० किलोमिटरर ४ किलोमिटरमा महिला र पुरुष दुवैमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः जनही १०, १० हजार, ५, ५ हजार र ३, ३ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय मान्यता पाएको ५० किलोमिटरको महिला, पुरुष सहभागी हुने यो कार्यक्रममा देशभरका राष्ट्रिय धावक धाविका र विदेशका धावक धाविकाहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ । यसपटक भोजपुर ट्रेल रेसमा ३ सय जना जति राष्ट्रिय, अन्तर्राष्ट्रिय धावक धाविकाहरूको सहभागिता हुने उनले जानकारी दिए ।

सम्बन्धित समाचार