काठमाण्डौ । साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । भारतको जमसेदपुरमा आज बिहीवार भएको खेलमा नेपाल बङ्गलादेश ४(२ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमै ४-१ ले अघि रहेको बङ्गलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन । नेपालले भने दोस्रो हाफमा एक गोल थप्दै बङ्गलादेशसँगको हार ४-२ को अवस्थामा पुर्यायो ।
बङ्गलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटी खातुन र शाहदा अख्तर रिपाले गोल गरिन् । नेपालका लागि दीपा शाही र अमिशा कार्कीले गोल गरिन् ।
लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । यसअघि नेपाल भारतसँग ७-१ को फराकिलो अन्तरमा पराजित भएको थियो । दुई खेलमा एक अङ्क पनि नजोडेको नेपाल पुछारमा छ । भारत र बङ्गलादेशले समान तीन अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा छ । बङ्गलादेश दोस्रो स्थानमा छ ।
अब नेपालले मार्च २१ मा फेरि भारतसँग र मार्च २३ मा बङ्गलादेशसँग खेल्नेछ ।
डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया