आर्थिक अनियमितताको आरोपमा ताप्लेजुङ अस्पतालको फार्मेसी कक्षका चार जना निष्कासित



ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको फार्मेसी कक्षमा कार्यरत चार जना कर्मचारीलाई अस्पताल व्यवस्थापनले निष्कासित गरेको छ । उनीहरुलाई आर्थिक अनियमितताको आरोप लागेको छ ।

फार्मेसीमा आर्थिक अनियमितता भएकोे विषय बाहिरिएपछि छानबिनका लागि गठित समितिले अनियमितता गरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएसँगै चार जना कर्मचारीलाई निष्कासित गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार व्यवस्थापन समितिको बैठकले गएको चैत्र २ गते सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराई संयोजक रहेको छानबिन समिति गठन गरेको थियो ।

समितिले फार्मेसीमा अनियमितता भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाए लगत्तै अस्पताल व्यवस्थापन समितिको बैठकले प्रतिवेदनले दिएको सुझावलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको संयोजकत्वमा अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेक थुलुङ सदस्य रहेको पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो ।

निष्कासित कर्मचारीले अब जिल्ला अस्पताल ताप्लेजुङमा काम गर्न पाउने छैनन् । तर उनीहरुलाई अन्य अस्पताल वा जिल्लामा गएर काम गर्न भने रोक लगाइएको छैन । फार्मेसीमा कार्यरत कर्मचारीले डाक्टर लेखेर दिएको बाहेक पनि बिरामीलाई थप औषधि दिने गरेको, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनियमितता गरेकोलगायत आरोप छ । अनियमितता गरेको रकमलाई यकिन गरि असुल गर्ने वा नगर्ने भन्ने विषयमा बीमा समितिको छानबिनपछि मात्रै टुङ्गो लाग्नेछ ।

सम्बन्धित समाचार