खाँदबारी । तीन देश जोड्ने उत्तर दक्षिण कोशी सडक अन्गर्तत पर्ने बरुण नदीमा पुल नबन्दा भोटखोलाको सडक प्रयोग विहिन बनेको छ । पुल नबन्दा राष्ट्रिय गौरवको योजना अन्तर्गत रहेको भोटखोला २ च्याम्ताङसम्म निर्माण गरिएको सडक प्रयोग हुन नसकेको हो ।
करिव ७ बर्ष यता जिल्ला सदरमुकाम खाँदबारी देखि भोटखोला गाउँपालिका ३ बरुण दोभानसम्म यातायात सञ्चालन हुँदै आएको छ । बरुण दोभानदेखि च्याम्ताङसम्म ६४ किलोमिटर सडकको ट्रयाक खुलेको ५ बर्ष वितेको छ । गाउँमा सडक पुगेको लामो समय वित्दा पनि पुल नबनेपछि उक्त सडक प्रयोग विहिन बनेको हो ।
भोटखोला क्षेत्रमा आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु बरुण दोभान (अरुण नदिमा मिसिएको ठाँउ) सम्म ढुवानीको साधनबाट र बरुण पारीबाट खच्चड र भरियालाई बोकाएर गाउँसम्म पर्याउने गरिएको छ । पुल नभएपछि बरुण पारिका सेम्बुङ, हटिया, हुङ्गुङ, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाक, किमाथाङ्का लगायतका स्थानीयहरु पैदल यात्रा गर्नु परेको छ । यातायात सञ्चालन नहुँदा यस क्षेत्रमा सामान ढुवानीमा बढी समस्या भोग्नु परेको स्थानीय बताउछन् । खच्चड र भरियालाई सामग्री बोकाएर गाउँ पर्याउनु पर्दा भोटखोलामा महँगी बढेको हटियाका होटल ब्यावसायी कर्मा भोटेले बताउनुभयो । भरियालाई बरुण दोभानबाट किमाथाङ्का गाउँ सामान पुर्याउन ३ दिन लाग्ने गरेको भोटेको भनाई छ ।
गाउँ गाउँसम्म सडक पुगेपनि प्रयोग गर्न नपाएको भन्दै स्थानीय भने दुख ब्यक्त गर्न थालेका छन् । घर छेउमै सडक भएपनि खाँदबारीबाट घर आईपुग्न २ दिन लाग्ने गरेको भोटखोला २ च्याम्ताङका डेण्डि भोटेको भनाई छ । बरुण नदीमा सवारी साधन नतर्ने भएपछि ठाउँ ठाउँमा भत्किएको सडक समेत कसैले मर्मत नगरेको भोटेको भनाई छ । ‘बरुण नदी वारी मात्र भएपनि कसैले यातायात सेवा दिए हुने हो, त्यो पनि कसैले गरेको छैन’, भोटेले भन्नुभयो ।
बरुण नदिमा पुलको विषयमा उत्तर दक्षिण सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख दिपेश रजकसँग कुरा गर्दा २ बर्ष भित्र पुल निर्माण हुने गरि काम सुरु गरिएको जानकारी दिनुभयो । बरुण नदिमा पुल निर्माणको लागि ठेक्का लगाई सकिएको प्रमुख रजकले जानकारी दिनुभयो । उक्त खोलामा पुल निर्माणको लागि हिमडुङ एण्ड थोकर बिवस एस्एएस् जेभिसँग सम्झौता भईसकेको कार्यालयका ईजिनियर किरण श्रेष्ठले जानकारी दिनुभयो । भ्याट बाहेक १३ करोड ८० लाख रुपैयाँमा बन्न लागेको उक्त पुलको समयावधी २ बर्ष रहेको ईञ्जिनियर श्रेष्ठले बताउनुभयो । यो पुल राष्ट्रिय महत्वको समेत भएकोले तोकिएकै समयमा सम्पन्न गराउन प्रयास गरिने ईञ्जिनियर श्रेष्ठको भनाई छ ।
गोरखापत्र दैनिकबाट साभार गरिएको ।
प्रतिक्रिया