पिएनजीलाई ५० रनले हराउँदै नेपालले जित्यो उपाधि



काठमाडौं । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि नेपालले जितेको छ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पपुवा न्यूगिनी ९पिएनजी० लाई ५० रनले पराजित गर्दै उपाधि जितेको हो। नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ दशमलब १ ओभरमा १ सय १८ रनमै समेटियो।

पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रनको योगदान गरे। ३८ बलमा उनले ६ छक्का र एक चौका प्रहार गरे। चार्ल्स अमिनीले १५ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। करण केसीले ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो।नेपालका लागि बिस्फोट ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले आउट नभइ ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका प्रहार गरे।

उनले टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका छन्। उनी नेपालबाट टी २०अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन्।

१२ बल खेलेका करण केसी एक छक्का र ५ चौका प्रहार गर्दै ३३ रनमा अविजित रहे। ​

आसिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाउँदा रोहित पौडेल २ रन बनाउँदै आउट भए। आरिफ शेख र दिलिप नाथ शून्य रनमा पेभिलियन फर्किए।

मलेसिया र पिएनजी सम्मिलित त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलामा नेपाल अपराजित रह्यो। उसले फाइनलसम्मका सबै पाँच खेल जितेको हो।

सम्बन्धित समाचार