आफैले बनाएको विश्व रेकर्ड तोड्न २६ औँ पटक सगरमाथा आरोहण गर्दै कामीरिता शेर्पा



सोलुखुम्बु । सोलुखुम्बु थामेका कामीरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्न लाग्नुभएको छ । यसअघि २५ औं पटक सगरमाथा आरोहण गरिसक्नुभएका ५२ वर्षीय शेर्पाले २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न आइतबार काठमाण्डौबाट जहाजमा लुक्ला आउने बताइएको छ ।

कोरोना महामारीका कारण तीन वर्षअघि सगरमाथा आरोहण गर्न नपाएका विदेशीको अनुरोधमा कामीरिता यसपटक सगरमाथा चढ्न लाग्नुभएको हो । विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीमा रहनुभएको छ । दोस्रो शिविरमाथिदेखि चुचुरोसम्म उहाँले करिब १३ हजार मिटर डोरी कतै दोहोरो त कतै एकसरो टाँगेर बाटो बनाइदिनुपर्नेछ ।

समुद्री सतहदेखि ५३ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरदेखि ६४ सय मिटर उचाइमा रहेको दोस्रो शिविरसम्म डोरी टाँग्ने र हिउँखाडलमा भर्‍याङ राख्ने काम ‘सगरमाथा प्रदूषण नियन्त्रण समिति’ले गर्छ । त्यसभन्दा माथि उकालोमा डोरीमात्रै टाँग्ने जिम्मा हरेक सिजनमा आरोहण गराउने कम्पनीको साझा संस्था एक्सपिडिसन अपरेटर्स एसोसिएसनले लिन्छ । एसोसिएसनका तर्फबाट दोस्रो शिविरदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कामको नेतृत्व सम्हाल्दै आएका छन् । काठमाण्डौको सेभेन समिट ट्रेक्स प्रालिमा आबद्ध उहाँले एक याममा कम्तीमा २० हजार डलर पारिश्रमिक लिने गरेको बताउनुभयो ।

सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका कामीरिताले गत वर्ष पनि दुईपटक सगरमाथा आरोहण गर्ने योजना बनाउनुभएको थियो । तर परिवारको अनुरोधमा दोस्रो पटकको आरोहण रद्द गरेर काठमाण्डौ फर्किनुभएको थियो । कामीरिताले विश्वकै दोस्रो अग्लो शिखर केटू, चौथो अग्लो ल्होत्से, छैटौं अग्लो चोयु र मनास्लु हिमाल पनि आरोहण गरिसक्नुभएको छ ।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उहाँकै जिल्लावासी पासाङदावा शेर्पा रहनुभएको छ । पासाङदावा पनि २३ पटक सगरमाथाको चुचुरोमा पुगिसक्नुभएको छ ।

सम्बन्धित समाचार