घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्षलाई एमालेले फेरि बनायो उम्मेदवार



धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेले डम्बरबहादुर राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

०७४ मा गाउँपालिका अध्यक्ष भएका उनलाई ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि गाउँपालिका अध्यक्षकै उम्मेदवार बनाउन लागिएको हो।

एमाले गाउँपालिका कमिटीले उनलाई सर्वसम्मतरुपमा पालिका अध्यक्षको उम्मेदवार घोषणा गरेको छ।
उम्मेदवारीका लागि एमालेका पालिका अध्यक्ष रामखेलावन महतो, हिरालाल महतो, श्याम महतो, दिलिप लामा, रामपुकार महतोलगायतले पनि दाबी गरेका थिए।

तर एमाले गाउँ सचिवालय समितिका अधिकांश सदस्य राउतको पक्षमा उभिएपछि अरु पछि हटेको नेता हिरालालले बताए।

गाउँपालिका अध्यक्ष रहेका राउतले २०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग आठ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ।

महेन्द्रनगरमा ठेकेदारबाट लिएको घुस रकम लिएर घर फर्कंदै गर्दा अख्यितरको टोलीले पछ्याएपछि उनी बाटैमा पैसा फालेर भागेका थिए।

केही रकम भने अध्यक्ष राउत सवार सरकारी गाडीबाट बरामद भएको थियो। अख्तियारको टोलीले घुस रकमसहित अध्यक्ष चढेको गाडीका चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिए पनि अध्यक्ष राउत फरार भएका थिए।

राउतविरूद्ध राजनीतिक दबाबले गर्दा अख्तियारले मुद्दा थप अगाडि नबढाएको आरोप पनि छ। उनी रघुवीर महासेठनिकट छन्।

सम्बन्धित समाचार