दूधकोसी जलविद्युत् आयोजनाको मुआब्जामा ढिलाइ



खोटाङ । राष्ट्रिय गौरवका आयोजनामा पर्ने दूधकोसी जलविद्युत् आयोजनाका प्रभावितले अधिग्रहणका लागि जग्गा रोक्का गरिए पनि मुआब्जामा ढिलाइ भएको गुनासो गरेका छन् ।

खोटाङको रावाबेसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुवाघाटबाट ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि ५ हजार ८ सय २६ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का गरिएको छ ।

‘रोक्का गरिएका जग्गा धनीले कि जग्गा फुकुवा हुनुपर्‍यो कि मुआब्जा दिनुपर्‍यो भन्छन्,’ रावाबेसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले भने, ‘सम्बन्धित निकायको ध्यान नगए पछि के लाग्दो रैछ र ?

खोटाङको क्षेत्रमा करिब १५ हजार रोपनी जग्गा अधिग्रहणको प्रक्रिया बढाइएको प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले बताए । उनका अनुसार १३ हजार रोपनी जग्गा गत मंसिरमै रोक्का गरिएको र दुई हजार रोपनी जग्गा एक महिनाअघि रोक्का गरिएको हो । दाहालले भने, ‘मूल्यांकन समितिले प्रतिवेदन बुझाएपछि मुआब्जाको प्रक्रिया बढ्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा मूल्यांकन समिति गठन गरी काम भइरहेको छ । उक्त समितिले जग्गा, वन, कृषि, घरलगायतका भौतिक संरचनाको मूल्यांकन गरी प्रतिवेदन पेस गर्नेछ । ओखलढुंगामा पनि जग्गा अधिग्रहण प्रक्रिया बढाइएको छ । चिसफ्गुढी गाउँपालिकाका पाँच वडाका २ हजार ४ सय २१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुख–बिरुवासमेत स्थायी रूपमा प्राप्तिका लागि ओखलढुंगा प्रशासन कार्यालयले सूचना जारी गरेको हो । आव २०७७र७८ बाट राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा राखिएको यसमा झन्डै २ खर्ब खर्च हुने अनुमान गरिएको छ । यसका लागि एसियाली विकास बैंक, युरोपेली लगानी बैंक, एसियाली पूर्वाधार लगानी बैंक र कोरियाली एक्जिम बैंकको संयुक्त लगानी रहनेछ ।

यो आयोजनाले माझी समुदायको घनत्व भएको बस्ती रभुवा पूरै डुबानमा पर्ने भएकाले उनीहरूको सांस्कृतिक परम्परालाई ध्यानमा राख्दै नदी आसपासमै पुनःस्थापना गर्नुपर्ने रावाबेसी गाउँपालिका–३ माझीगाउँका लालबहादुर माझीले बताए । जन्मदेखि मृत्युसम्मको सांस्कृतिक परम्परा नदी र जंगलसँगै जोडिएकाले आसपासमै पुनःस्थापना गर्नुपर्ने जनाए । यो आयोजनाले डुबानमा पर्ने एक सय ६२ घरमध्ये रभुवाका ८० घर माझी समुदायको छ । यो आयोजनाले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ९ सय ८८ घरपरिवार प्रभावित हुनेछन् । उक्त क्षेत्रका ८ सय ७६ हेक्टर जमिन डुबानमा पर्ने छ । यो आयोजनाको लामीडाँडाको रभुवाबाट १३।५ किलोमिटर लामो सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिकाको धितुङमा पानी खसाएर विद्युत् उत्पादन गरिनेछ ।

जलाशय क्षेत्र १७ किलोमिटर दूधकोसी नदीमा, ठोट्ने खोलामा ५।५ किलोमिटर, रावाखोलामा ८ किलोमिटसम्म फैलनेछ । १ हजार २ सय पाँच मिटर लामो दुईवटा पक्की डाइभर्सन सुरुङबाट ६ सय मेगावाट विद्युत् उत्पादन हुनेछ भने ड्यामदेखि तल्लोपट्टिको भागबाट ३५ मेगावाट गरी ६ सय ३५ मेगावाट विद्युत् उत्पादन हुने भएको हो । जलाशयको क्षेत्र १९।७ वर्ग किलोमिटर रहनेछ । यसको कुल क्षमता १५८।१ करोड घनमिटर रहनेछ ।

आयोजना निर्माणको क्रममा अहिले सञ्चालन भइरहेका विभिन्न किसिमका भौतिक संरचनाहरूमा समेत क्षति पुग्नेछ । यसअन्तर्गत १२ झोलुंगे पुल, दुई पक्की पुल, ६ मन्दिर, दुई लघु तथा साना जलविद्युत्, ८ घाट, ४ चौतारा मासिनेछन् । बाल सिकाइ केन्द्र र सामुदायिक भवनमा समेत क्षति पुग्नेछ ।

 

सम्बन्धित समाचार