गुराँसको राजधानी भनेर टिएमजे क्षेत्रलाई चिनिन्छ । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सीमाना रहेको तिनजुरे–मिल्के–जलजले ९टिएमजे० क्षेत्रका वनमा लालीगुराँस ढकमक्क फुलेका छन् ।
पछिल्लो समय लालीगुराँसको सौन्दर्यता हेर्नका लागि आन्तरिक तथा बाह्रय पर्यटकहरुको भिडभाड लाग्न थालेको छ । टिएमजे क्षेत्रका वन जङ्गलमा विभिन्न किसिमका गुराँसहरू पाइन्छ ।
लालीगुराँस फुल्ने सिजनमा पुगेकाहरुले फोटो खिच्न र टिकटक पनि बनाउन भ्याउने गरेको गुराँसको दृश्य हेर्न पुगेका भोजपुरका युवा रोशन श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्,‘गुराँसको राजधानीका रुपमा चिनिएको यो क्षेत्रमा पुग्नका लागि सडकको पहुँच भएकाले सहज रहेछ ।’
कोरोना महामारीका कारण दुई वर्ष पर्यटकीय क्षेत्रमा पुग्न नपाएकाहरुसमेत सो क्षेत्रमा पुगेका छन् । विभिन्न प्रकारका गुराँसहरुको दृश्यवोलकन गर्न सकिने सुनेको भएपनि कोरोना महामारीका कारण बिगतमा पुग्न नसकेको आन्तरिक पर्यटक शंकरप्रसाद आचार्यले बताए । गुराँसको क्षेत्रमा पुग्दा छुट्टै आनन्द महसुस भएको बताउँदै उनले भने, ‘यस क्षेत्रको मुख्य आकर्षण भनेकै विश्वमा पाइने बिभिन्न प्रजातिका लालीगुराँसहरू हुन् ।’
छिमेकी मुलुक भारतका साथै अमेरिका, बेलायतलगायत देशहरुबाटसमेत पर्यटकहरु गुराँस हेर्नका लागि आउने गरेको स्थानीयले बताएका छन् । बिगतका वर्षहरुमा भन्दा यो वर्ष गुराँस बढी फुलेकाले अवलोकनका लागि आउनेहरुको भिडभाड रहेको स्थानीयले जानकारी दिए ।
साथीहरुसँग गुराँसको क्षेत्रमा पुग्दा छुटै रमाइलो भएको बताउँदै विराटनगरका युवा युवराज घिमिरेले भने,“हामी मात्र होइन, गुराँस हेर्न आउनेको चहलपहल त धेरै हुदोरहेछ ।’ गुराँसले पहाडी क्षेत्रहरुलाई समेत आकर्षणको केन्द्र बनाएको उनले बताए ।
चैत्रदेखि जेठसम्म गुराँसको राजधानी मानिएको टिएमजे क्षेत्रमा दैनिक चार सयसम्मको आन्तरिक तथा बाह्रय पर्यटकको टोली पुग्ने गरेका छन् ।
समुद्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाईमा रहेको सौन्दर्य हेर्ने पर्यटकहरूको ठूलो भिड लाग्ने गरेको छ । टिएमजे क्षेत्र पुगेपछि विभिन्न जातका रंगीबिरंगी लालीगुराँस देखेपछि जो कोहीको मन फुरुङ्ग हुने धनकुटाका रुजन कार्कीले बताए । उनले भने ‘टिएमजे क्षेत्रमा सडक यातायात विस्तार भएकाले यहाँ पुग्न सहजै सकिने रहेछ ।’
प्रतिक्रिया