मोरङमा दुर्घटना : वृद्ध र वृद्धाको मृत्यु



विराटनगर । मोरङका भिन्दाभिन्दै स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकामा दुर्घटना हुँदा सोमबार वृद्ध र वृद्धाको मृत्यु भएको हो।

लेटाङ–कानेपोखरी सडकखण्डअन्तर्गत कानेपोखरी–७ मा पैदल हिँडिरहेका ८१ वर्षीय वृद्धको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ८२० नम्बरको ट्याक्टरले ठक्कर दिँदा लेटाङ नगरपालिका–५ का मानबहादुर राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको हो। प्रहरीले ट्याक्टर र चालक मिक्लाजुङ गाउँपालिका–५ का २६ वर्षीय महेश कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। पैदल यात्रीको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ।

यसैबीच पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा–७ बेलगाछीमा पहिचान नखुलेको मोटरसाइकलले ठक्कर दिँदा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय धनमाया घिमिरेको मृत्यु भएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। दुर्घटनालगत्तै फरार बनेको मोटरसाइकल र चालकको खोजी तीव्र पारिएको उनको भनाइ छ। मोटरसाइकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ।

सम्बन्धित समाचार