एकै परिवारबाट ३ प्रतिस्पर्धी



नुवाकोट । स्थानीय जनप्रतिनिधि हुन एकै परिवारबाट तीन जना चुनावी मैदानमा उत्रिएका छन्। विदुर नगरपालिका–८ भैरमकोटका दाजुभाइ र बहिनी छुट्टाछुट्टै दलबाट वडा सदस्य पदमा उम्मेदवार बनेका हुन्।

खुला सदस्यमा एमालेबाट जेठो सम्मरबहादुर रिमाल, राप्रपाबाट महिलो ईश्वरबहादुर रिमाल प्रतिस्पर्धा गरिरहेका हुन्। बहिनी देवकुमारी खड्का कांग्रेसबाट महिला सदस्यमा उत्रिएकी छन्। उनलाई गठबन्धनको समर्थन छ।

‘मैले ठूलो पार्टीबाट पहिला टिकट पाएँ’, ६३ वर्षीय सम्मरले भने, ‘भाइले पनि टिकट पाएको बतायो। के गरूँ भन्यो ? मैले विवेक गर्नू भनेँ।’ दाजुभाइको प्रतिस्पर्धा एकै पदमा छ। देवकुमारीको प्रतिस्पर्धा भने दाजुभाइसँग छैन।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरमा उनीहरूले मनोनयन दर्ता गरेका थिए। उनीहरू परिवारमा पाँच सन्तान छन्। विवाहित देवकुमारी एक्ली छोरी हुन्। उनको सोही वडामै खड्का परिवारमा विवाह भएको थियो।

एकै परिवारका सदस्य फरकरफरक पार्टीबाट मित्रवत् प्रतिस्पर्धा हुनुलाई रोचक मानिएको स्थानीयवासी बताउँछन्। तीनै जना मत माग्दै घरदैलो गरिरहेका छन्।

सम्बन्धित समाचार