बागलुङ । प्रहरीले गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई नियन्त्रणमा लिएको छ। मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको हो।
बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका ९ वीरकोटमा आचारसंहिता विपरीत उम्मेदवारले पैसा बाँडेको सूचना पाएपछि प्रहरी पुगेको थियो। त्यस ठाउँमा नभेटिए पनि केही दूरीबाट गाडीसहित चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले चालिसेलाई राति १० बजे नियन्त्रणमा लिएर बिहीबार बिहान ३ बजे छाडेको बताए। तर उनको साथबाट रकम फेला नपरेको उनले बताए।
नेपाली कांग्रेसकी नेतृ चालिसे पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसकै नेता भरत शर्मा गैरेको विरुद्धमा उम्मेदवारी दिएकी हुन्। पाँचदलीय गठबन्धनका कार्यकर्ता र चालिसेका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै सावधानी अपनाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया