नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध छ : देउवा



काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्दै भूमि सम्बन्धी विषयमा कुनै समस्या भए कुटनीतिक पहलबाट समाधान गर्ने मान्यतामा सरकार रहेको पनि स्पष्ट पार्नु भयो ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई यस भूमिबारे प्रष्ट धारणा राख्न आग्रह गर्नु भएको थियो । त्यसको जवाफ प्रधानमन्त्री देउवाले दिनु भएको हो । उहाँले सरकारले छिमेकसँगको सम्बन्ध अझै उचो बनाउँदै लैजाने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ । भूमि सम्बन्धी विषय विशेष संवेदनशील विषय भएकाले वार्ता र कुटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ मान्यतामा रहिआएको छ । यसमा हाम्रो कुटनीतिक प्रयास जारी छ । यस सम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नेपाल भारत सम्बन्ध बहुआयामिक छ । सहयोगका क्षेत्रहरु व्यापक छन् । ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने विषयमा दुई देशबीच सम्झौता भएको छ । नेपालको भूबनावटका कारण ऊर्जाको बजार भारत सहज हुने देखिन्छ ।’

सम्बन्धित समाचार