काठमाडौं । बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको मिक्स स्पर्धामा स्वर्ण जितेका छन्। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोस्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेस्रो भए।
फरक क्षमता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघको व्यवस्थापनमा परिषद्द्वारा आयोजित प्रतियोगिताको बीसी–४ को मिस्क टिम स्पर्धामा विष्णु घिमिरे, सुवेच्छा खतिवडा र निलम अधिकारी पहिलो, सुकुमाया लो, सविन तामाङ र जिज्ञासा अधिकारी दोस्रो तथा सीता ढकाल, सुरुजन रावत र विशाल श्रेष्ठ तेस्रो भए। बीसी–३ को मिक्समा आश्मा सिग्देल र रिदम क्षत्रीले स्वर्ण, मर्यम नकर्मी र आयुष्मा अधिकारीले रजत तथा लिजा वज्राचार्य र सुभला राईले कांस्य जिते।
बीसी–२ को मिक्स टिममा रुपेश लामिछाने, रोशनी खत्री र अशोक बस्नेत पहिलो, प्रताप बराल, सुमन पालिखे र गंगामाया कसलवत दोस्रो तथा सुलोचना, दीपा सुलु र मानबहादुर भुजेल तेस्रो भए। सिंगल मिक्स स्पर्धामा मौसम चौधरी पहिलो र लक्ष्मी मगर दोस्रो बने।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, फरक क्षमता भएका व्यक्तिहरूको लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा ५२ खेलाडी सहभागी थिए। बोसियाको समापनसँगै पारा राष्ट्रिय खेलकुदले पनि सम्पन्न भएको छ।
प्रतिक्रिया