तयारीविना इम्बोस्ड नम्बर अनिवार्य गर्न खोजेको भन्दै आलोचना



काठमाण्डौ । सरकारले तयारी विना गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजेको भन्दै आलोचना भएको छ।

यातायात व्यवस्था विभागले आउँदो साउन १ गते अघि नै वाग्मती र गण्डकी प्रदेशका गाडीमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्नुपर्ने र नलगाए कारबाही गर्ने सूचना निकालेपछि आलोचना भएको हो।

इम्बोस्ड नम्बर अनिवार्य गर्नुअघि विभिन्न नाकामा नम्बर प्लेट रिड गर्ने रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस अर्थात आरएफआईडी जडान गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।

गाडीको बारेमा जानकारी दिने यस्तो पूर्वाधार काठमाण्डौको नागढुङ्गा, दक्षिणकाली, अरनिको राजमार्ग, साँखु र टोखामा राख्ने भनिएको थियो । त्यस्तै, काठमाण्डौ उपत्यकाबाहिर बुटवल, कोहलपुर, अत्तरिया, पथलैया र इटहरीमा निगरानी गेट बनाइने भने पनि त्यो पनि बनेको छैन।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट पूरै जडान भएपछि मात्रै यस्ता पूर्वाधार बनाउन सकिने बताउनुभयो । अहिलेसम्म अहिलेसम्म करिब २५ हजार गाडीमा मात्र इम्बोस्ड नम्बर प्लेट राखिएको छ ।

यातायात व्यवस्था विभागले अबको १५ महिनामा थप २४ लाख ७५ हजार नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ । इम्बोस्ड नम्बर प्लेट राख्नको लागि दुई पाङ्ग्रेका लागि २ हजार ६ सय, तीन पाङ्ग्रेका लागि २ हजार ९ सय, साना गाडीका लागि ३ हजार २ सय र ठूला गाडीका लागि ३ हजार ६ सय रुपैयाँ लाग्नेछ ।

इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनलाइनमार्फत निवेदन दिन सकिने विभागले जनाएको छ ।

सम्बन्धित समाचार