काठमाडौं । दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा एक जोडी मृत अवस्थामा भेटिएका छन्। वडा नम्बर ९ पुरानो दक्षिणकाली जंगलमा अन्दाजी २०–२२ वर्षको जस्तो देखिने युवक र युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।
जोडीको नजिकै एउटा झोलासँगै विषको बट्टा पनि भेटिएको वरिष्ठ हवल्दार सुरेश कट्टेलले थाहा संचार नेटवर्कलाई जानकारी दिए। मृतकको पहिचानबारे अहिलेसम्म केही थाहा नभएको र विष सेवन गरे नगरेको बारेमा पनि परीक्षणपछि मात्रै थाहा हुने उनले जानकारी दिए।
यो घटनाबारे प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ। घाँस काट्न गएका महिलाहरूले आज बिहान ११ बजेतिर दुईवटा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
वरिष्ठ हवल्दार कट्टेलका अनुसार १–२ दिनअघि नै यो जोडीको मृत्यु भएको आँकलन गरिएको छ। घटनास्थल सडकबाट केही मिटर उचाइमै भएकाले पनि घटना भएको केही समयपछि मात्र पत्ता लागेको प्रहरीले जनाएको छ। दुवै शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने तयारी भइरहेको हवल्दार कट्टेलले बताए।
प्रतिक्रिया