काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहने भएको छ। विहान साढे ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। हिजोको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो।
यस्तै राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन,२०७७/०७८,लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८,राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ पेश गर्नु हुने छ।
त्यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन,२०७६/०७७ र २०७७/०७८ तथा थारु आयोगको वार्षिक प्रतिवेदन,२०७७र०७८ पेश गर्ने सम्भावित कार्यसूची छ। राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।
प्रतिक्रिया