आइतबार विदा दिने निर्णय र खारेजी हचुवाको भरमा



काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय खारेज गरेको छ । अब असार १ गतेदेखि सरकारी कार्यालयहरु फेरि पुरानै समय १० देखि ५ बजेसम्म हुनेछ भने शनिबार मात्रै साप्ताहिक विदा दिइनेछ ।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले २६ वैशाख २०७९ मा जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बढ्दो आर्थिक मन्दी र पेट्रोलियम पदार्थको खपतका कारण व्यापार घाटालाई देखाउँदै सरकारले दुईदिने विदाको अवधारणा कार्यान्वयन गरेको थियो । तर आगामी आइतबार पाँचौं विदापछि सरकारी सेवा र विदा प्रणाली पुरानै अवस्थामा फर्किनेछ ।

पर्याप्त छलफल र बहसविना भएको निर्णय त्यही शैलीमा नै हट्यो । यसले प्रशासनयन्त्रलाई हचुवाको भरमा निर्णय गर्ने र त्यही शैलीमा पछाडि हट्ने प्रवृत्तिलाई सतहमा ल्याएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आन्तरिक पर्यटन र देशव्यापी आर्थिक चहलपहल गराउन सरकारले दुई दिनको विदावारे अध्ययन भएको थियो । तर यसपटक पेट्रोलियम पदार्थको खपत कम हुन्छ भन्ने आयल निगमको सुझावका आधारमा सरकारले दुई दिने विदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार