युक्रेनको सेभेर–डोनेत्स्कमा भीषण लडाइँ



काठमाडौं । युक्रेनको सेभेर–डोनेत्स्क सहरमा रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध जारी रहेको छ।

युद्धका कारण हजारौँ मानिस ज्यान जोगाउन सुरुङमा छिरेका छन्। हिजोदेखि सुरु गरेको ठूलो शक्तिसहितको आक्रमणमा युक्रेनको जनशक्ति, हतियार तथा सैन्य उपकरणमा उल्लेख्य क्षति पुर्‍याउन सफल भएको रुसले दाबी गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेभेर–डोनेत्स्क सहरका लागि भइरहेको लडाइँले देशको पूर्वी क्षेत्रमा युद्धको परिणामलाई निर्धारण गर्न सक्ने बताएका छन्। उनले यो लडाईँले डोन्बास क्षेत्रको भाग्य निर्धारण गर्ने बताए। जेलेन्स्कीले आफ्नो सेनाले रुसी सेनालाई ठूलो क्षति पु¥याइरहेको समेत दाबी गरेका छन्। तर त्यस क्षेत्रका युक्रेनी अधिकारीले भने युक्रेनी सेना सहरको बाहिरी भागतर्फ धकेलिएको बताएका छन्।

लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले रुसले गोलाबारी र हवाई आक्रमण बढाएपछि विशेष सैन्य बल नै फिर्ता भएको बताए। गत मार्चको अन्त्यमा युक्रेनको राजधानी किभ वरपरको क्षेत्रबाट फिर्ता भएपछि रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आक्रमण गरिरहेको छ।

सम्बन्धित समाचार