काडमाडौं । पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ३५ लाख ५० हजार रूपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाइदिन्छु भनेर नक्कली कागजातसमेत दिएर ८ जनालाई ठग्ने काठमाडौंको बालुवाटारका हाल टोखा नगरपालिका ६ ग्राण्डी बस्ने ३५ वर्षका रोहित प्रजापति भनिने रोजित श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
तनहुँ बन्दीपुर गाउँपालिका २ घर भई हाल काठमाडौं म्हेपी बस्दै आएका सुकमाया गुरुङसँग चिनजान गरी श्रेष्ठले बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेको छु भन्दै झुक्याएको प्रहरीले जनाएको छ। उनले आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष रहेको र पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकाले सुकमाया र उनका कोही आफन्त जाने भए पोर्चुगल पठाइदिने भनेका थिए।
पोर्चुगलमा पुगेपछि काममा समेत लगाइदिन्छु भन्ने विश्वास दिलाएर भिसा प्रक्रिया तथा हवाई टिकटको लागि भन्दै सुकमायासहित ८ जनाबाट ३३ लाख ५० हजार रूपैयाँ लिएको प्रहरीले जनाएको छ। उनले सुकमाया लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिसासमेत नक्कली भएको पाइएपछि उनीहरू ठगीमा परेको भन्ने खुल्न आएको हो।
रकम लिएर फरार भएका रोहितलाई अपराध अनुसन्धानको टोलीले सोमबार बेलुकी ७ बजे बालुवाटारबाट पक्राउ गरेको हो। उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया