विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणको वातावरण बनाउन बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका छन् ।
शनिबारको प्रदेशसभा बैठकमा उनले सर्वसम्मतिले प्रदेशको नाम टुङ्गो लगाउने वातावरण बनाउनका लागि पहिला बजेट सर्वसम्मतिले पास गर्न आग्रह गरेका हुन् ।
चालु अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउन सबै दल सहमत छन् । बजेट पास गरेपछि नामको विषयमा छलफल गर्ने विषयमा दलहरु सहमत भए पनि पहिचान कि भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा विवाद छ ।
‘अब बजेट पास गरौं, विनियोजन विधेयक पास गरौं, नामको वातावरण बनाउनका लागि सर्वसम्मति रुपमा हाँसीहाँसी बजेट पास गरौं’, उनले भने, ‘पक्ष प्रतिपक्ष भन्दा पनि सबैले हाँसीहाँसी पास गरे त्यो कामको (नामकरण) वातावरण सहज बन्छ ।’
प्रदेश १ को आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन गरेको बजेटमाथिको छलफल सकिएको छ । मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको शनिबार सम्बन्धित मन्त्रीहरुले जवाफ दिएपछि बजेटमाथिको छलफल सकिएको हो । प्रदेशसभाको आइतबार बस्ने बैठकबाट बजेट पास गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया