मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा लोप हुँदै यार्सागुम्बा



सङ्खुवासभा । पछिल्लो समय मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा लोप हुँदै गएको छ । विगत बर्षमा लाखौ रुपैयाँ मुल्य बराबरको यार्सा संकलन गरिएपनि पछिल्लो समय त्यस क्षेत्रमा यार्सा उम्रन छोडेको हो ।

यस बर्ष मकालु गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा केहि संकलन गरिए पनि सिलिचोङ गाउँपालिका क्षेत्रमा भने नउम्रेको बताईएको छ । यार्सागुम्बा सङ्कलनको लागि पुर्जी लिएर सङ्खुवा खोलाको शिर क्षेत्र पुगको सिलिचोङ गाउँपालिका १ शिसुवाखोलाका स्थानीय रित्तै फर्किनु परेको बताएका छन् । दुई हप्ता लगाएर यार्सा सङ्कलन क्षेत्रमा बसेपनि कतै उम्रेको नपाईएको यार्सा सङ्कलनमा गएर फर्कनुभएको सुर्य कुलुङले बताउनुभयो । ‘एक महिनाको लागि पुर्जी लिएका थियौं, केहि दिनमा उम्रन्छकी भनेर पर्खे पनि रित्तै फर्किनु पर्यो’, कुलुङले भन्नुभयो । निकुञ्जले यार्सा सङ्कलनका लागि जेठ १० गते देखि असार ९ गतेसम्मको लागि सङ्कलन पुर्जी खुलाएको थियो ।

मकालु बरुण राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार विगतमा बर्षिक २ हजार जना भन्दा बढिले यार्सा सङ्कन गर्ने गरेकोमा यस बर्ष एक सय ४२ जनाले मात्र यार्सा सङ्कलन पुर्जी लिएका छन् । यार्सागुम्बा पाईने क्षेत्रमा यार्सा नउम्रेकोले न्युन संख्यामा मात्र संकलनमा गएको मकालु बरुण राष्ट्रिय निकुञ्जले जनाएको छ । पाँच बर्षअघिदेखि यार्सागुम्बाको उत्पादनमा ह्रास आउन थालेको निकुञ्ज कार्यालयले जनाएको छ । बर्षेनी यार्सा उत्पादन घट्दै आउने क्रममा हालसम्मकै यस बर्ष सवैभन्दा कम संकलन भएको मकालु बरुण राष्ट्रिय निकुञ्जका रेञ्जर लाकपत कुलुङले जानकारी दिनुभयो ।

यस बर्ष यार्सा संकलन पुर्जीबाट ७१ हजार रुपैयाँ र निकाशी पुर्जीबाट ५ लाख ९३ हजार २ सय ५१ रुपैयाँ गरि ६ लाख ६४ हजार २ सय ५१ रुपैयाँ मात्र संकलन भएको रेजर कुलुङले जानकारी दिनुभयो । विगत बर्षहरुमा २ हजार भन्दा बढि संकलक र निकाशी कर्ताहरुबाट झण्डै करोडको हाराहारीमा राजश्व संकलन हुने गरेको बताईएको छ । यस बर्ष १७ दशमलव ५ किलोग्रामको मात्र निकाशी पुर्जी जारी गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले संकलन पुर्जी वापत प्रति ब्यक्ति ५ सय रुपैयाँ र निकाशी पुर्जी वापत प्रति किलो ३० हजार रुपैयाँ लिँदै आएको छ ।

निकुञ्ज क्षेत्रमा मानवीय ब्यावहारकै कारण यार्सागुम्बो लोप हुँदै आएको निकुञ्जको दावी छ । यार्सा संकलन गर्न जानेहरुले यार्सा संकलनको क्रममा जमिन खन्ने भएकोले लोप हुँदै गएको निकुञ्जले दावी गर्दै आएको छ । यार्सा पाउने क्षेत्रको जमिन खनेपछि यार्साको जरामा असर पुग्दा उम्रन छोडेको निकुञ्जका रेञ्जर कुलुङको भनाई छ । संकलकहरुले झारबाट यार्साको बोट छुटाउन असहज हुँदा माटो खनेर यार्सा निकाल्ने गरेका थिए । पछिल्लो बर्षहरुमा भने यार्सा पाउने क्षेत्रमा माटो खन्न पुर्ण रुपमा निषेध गरिएको कुलुङले बताउनुभयो ।

सङ्खुवासभामा मकालु र सिलिचोङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा यार्सागुम्बा पाउने गरिन्छ । सिलिचोङ गाउँपालिकाको सङ्खुवा खोला शिर, दिगलिङ, याङले खर्च लगायतमा यार्सा पाईन्छ । त्यस्तै मकालु गाउँपालिकाको ठुलो पोखरी, शिवधारा क्षेत्र लगायतमा बढि यार्सागुम्बा पाईन्छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणको लागि नेपाली सेना खटाईएको छ ।

गाेरखापत्र दैनिकबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार