बिवादका कारण अरुण तेश्रो प्रसारण लाईन बन्न ढिलाई



प्रसारण लाईन बिवाद सम्बन्धि जिल्ला समन्वय समितिकाे सभाहलमा आयाेजित कार्यक्रम । तस्बिर: ध्यान कुलुङ

खाँदबारी । ४०० केभि क्षमताको अरुण तेश्रो जलविद्युत प्रसारण लाईन निर्माणमा बिवाद भएपछि सङ्खुवासभामा प्रसारण लाईन निमार्ण हुन सकेको छैन । प्रसारण लाईन विस्तार हुने सात जिल्ला मध्ये ६ जिल्लामा मुआब्जा वितरण गरि काम सुरु भईसके पनि सङ्खुवासभामा प्रसारण मार्गको बिवादका कारण काम सुरु हुन नसकेको हो ।

विद्युत प्रसारण लाईन सम्बन्धी जनगुनासो सँगै अवरोध हुने भएपछि जिल्ला समन्वय समितिले विभिन्न सरोकारवालाहरुको सहभागीतामा छलफल कार्यक्रमको आयोजना गरेको छ । आयोजना विकासकर्ताहरुको प्रतिनिधी, जिल्ला स्थीत सवै राजनितिक दलका प्रतिनिधीहरु, प्रभावित क्षेत्रका नागरिकहरु लगायतको सहभागीतामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले अरुण तेश्रो परियोजना बारे असन्तुष्टि ब्यक्त गरेका छन् ।

प्रसारण लाईन निर्माण क्षेत्रका नागरिकहरुले प्रसारण मार्गको विषयमा गुनासो गरेपछि बिवाद सुरु भएको हो । सङ्खुवासभा भित्र प्रसारण मार्ग निर्धारण गर्दा पुर्व जानकारी नगराई आफुखुसी मार्ग तोकेकोले आफुहरु विस्थापित हुनु परेको स्थानीयको गुनासो छ । पावर हाउस निर्माण स्थल पुखुवा दोभानबाट तार घुमाएर गाउँको विचबाट प्रसारण लाईन निर्माण गरिदा खेती योग्य जमिन मासिएको र जनजीवन जोखिममा रहेको स्थानीयको गुनासो छ । आयोजनाले खेतीयोग्य जमिनको साटो छोटो दुरी समेत रहेको जङ्गल क्षेत्रबाट प्रसारण लाईन निर्माण गर्न चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वू शेर्पाले सुझाव दिनुभयो ।

कत्तिपय ठाउँमा पहिले निर्धारण गरिएकोदेखि ‘एलायनमेन्ट’ परिवर्तन गरिएको बताईएको छ । चिचिला गाउँपालिका ३ स्थीत पुखुवामा निर्माण भईरहेको पावर हाउसबाट खाँदबारी नगरपालिका १० आङ्ला गाउँ हुँदै सिधै भोजपुर तार्न सकिने नजिकको मार्ग हुँदा हुँदै गाउँबस्तिमा प्रसारण लाईन घुमाएको भन्दै स्थानीयले विरोध गरेका हुन् । अहिले तय गरिएको मार्गबाट प्रसारण लाईन निर्माण गरे छ्याङ्कुटी डाँडा र ठुलो ढुङ्गा पर्यटन क्षेत्रमा असर पुग्ने खाँदबारी नगरपालिका ४ का वडा अध्यक्ष विनोद सुब्बा गुरुङको भनाई छ ।

हाल तयार गरिएको रुट अनुसार गाउँबाट नै प्रसारण लाईन राखिएपनि ४ घर मात्र विस्थापित हुने सतलज जलविद्युत निगमका ईञ्जिनियर नवराज थापाले जानकारी दिनुभयो । सङ्खुवासभामा ५९ वटा टावर राखिने र १८ दशमलव ९३ किलोमिटर तार विच्छ्याईने ईञ्जिनियर थापाले जानकारी दिनुभयो । जसको लागि करिव ८० रोपनी जग्गा आवश्यक पर्ने ईञ्जिनियर थापाको भनाई छ । सङ्खुवासभाको चिचिला गाउँपालिकादेखि महोत्तरीको ढल्केबरसम्म निर्माण गरिने प्रसारण लाईनका लागि सवै जिल्लामा मुआब्जा समेत उपलब्ध गराएर धमाधम काम भईरहेको ईञ्जिनियर थापाले बताउनुभयो ।

छलफलमा सहभागीहरुले छोटो दुरी समेत रहेको जंगल क्षेत्रबाट नभई गाउँ बस्तिबाट नै प्रसारण लाईन विस्तार गर्नुको कारण तथा गाउँबाट प्रसारण लाईन विस्तार गर्दा जनजीवनमा पर्ने दिर्घकालिन असरको बारेमा आयोजना विकास कर्ता सतलज जलविद्युत निगमले भनेकोमा विश्वास्त नहुने बताएका थिए । यसको दिर्घकालिन असर नगर्ने बारे नेपाल सरकार अन्तर्गतका उर्जा तथा जलश्रोत सिंचाई मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण र लगानी बोर्डले स्पष्ट पार्नु पर्ने निर्णय गरेका छन् । उक्त सरकारी निकायबाट आम प्रभावितहरुलाई आश्वास्त पारेपछि मात्र जग्गा अधिग्रहण गर्न दिईने खाँदबारी नगरपालिकाको प्रमुख महेश थपलियाले बताउनुभयो ।

द राईजिङ नेपालबाट साभार ।

 

सम्बन्धित समाचार