खाँदबारी । जिल्ला सदरमुकाम खाँदबारीबाट सिलिचोङ गाउँपालिका र भोजपुरको उत्तरी क्षेत्र जाने सडक कालोपत्रेको ठेक्काको म्याद आगामी कातिक ४ गते सकिदैछ । म्याद सकिन करिव एक महिना बाँकी रहँदा भौतिक प्रगति ३० प्रतिशत मात्र रहेको पाईएको छ ।
निर्धारित समयमा काम सम्पन्न नहुँदा यातायात सञ्चालन हुन सकेको छैन । बर्षातको समयमा कटिङ गर्ने क्रममा खनिएको बाटो हिलाम्य हुँदा सवारी साधन सञ्चालन हुन नसकेको हो । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट सिलिचोङ गाउँपालिका र भोजपुरको उत्तरी क्षेत्र जाने मुख्य सडक ठप्प हुँदा बुढाबुढी, बालबालिका र बिरामीहरु बढि प्रभावित बनेका छन् । हिलाम्य सडकमा कुनै पनि सवारी साधन नचलेपछि गाउँका बिरामीहरु बोकेर अस्पताल ल्याउनु परेको छ । चिप्लो बाटोमा जबरजस्ती ट्याक्टर चलाउदा बगेको लेदोेका कारण पैदल यात्रीहरुले समेत सास्ती भोग्नु परेको छ ।
यस सडक खण्डको निर्माण कार्य भईरहेको भए पनि विग्रिएको ठाउँहरुमा मर्मत गरि सवारी सुचारु गर्नु पर्ने स्थानीयको माग छ । त्यस्ता ठाउँहरुमा थोरै मर्मत गरे ट्याक्सी सञ्चालन गर्न सकिने मानेभञ्ज्याङ हेलुवाबेँशी सडक सरोकार समितिका संयोजक भुवन राईले जानकारी दिनुभयो । चार्ड पर्वको समयमा ठुलो संख्यामा मानिसहरु गाउँ फर्किने भएकोले सवारी साधन सञ्चालन अत्यावश्यक रहेको संयोजक राईको भनाई छ । सवारी साधन सञ्चालनको लागि सडक मर्मतको माग सहित जिल्ला प्रसासन कार्यालय र भौतिक पुर्वाधार कार्यालयमा ज्ञापन पत्र समेत बझाईएको राईले बताउनुभयो ।
२०७७ साल कातिक ४ गते याक्थुमहाङ खाम्पाचे जेभीले ठेक्का सम्झौता गरेको १४ दशमलव ५ किलोमिटर सडकको भौतिक प्रगति ३० प्रतिशत रहेको भौतिक पुर्वाधार कार्यालय सङ्खुवासभाका निमित्त कार्यालय प्रमुख शैलेन्द्र कुमार सिंहले जानकारी दिनुभयो । ४४ करोड ७ लाख रुपैयाँ लागतमा सम्झौता गरिएको यस आयोजनाको हाल कटिङ र स्ट्रक्चरको काम भईरहेको निमित्त प्रमुख सिंहले जानकारी दिनुभयो ।
निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि म्याद थपको तयारी भईरहेको निमित्त प्रमुख सिंहको भनाई छ । २ बर्षको निर्माण अवधि रहेको यस योजना सञ्चालनको क्रममा कोरोना संक्रमण बढेकोले भौतिक प्रगति न्युन रहेको उहाँले बताउनुभयो । कोरोनाबाट प्रभावित आयोजनाहरुको लागि म्याद थप्ने सरकारी निर्णय भईसकेकोले म्याद थप्ने प्रकृया अघि बढाईएको निमित्त प्रमुख सिंहको भनाई छ ।
प्रतिक्रिया